हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं।
नेकपा (एमाले) बाट निष्कासित माधवकुमार नेपाल पक्षको भर्चुअल केन्द्रीय कमिटी बैठकले अध्यक्ष ओलीले ‘खेलाउन खोजेको’ निष्कर्ष निकालेको छ। यद्यपि ‘केपी ओली प्रवृत्तिविरुद्ध’ पार्टीभित्रै रहेर संघर्ष गर्नुपर्ने निष्कर्ष पनि निकालेको छ । तर, नेपाल पक्षधर नेकपा एमालेका १७ वटा भ्रातृ संगठनहरूले पार्टी र जनसंगठनहरूका सबै संरचनालाई २०७५ जेठ २ को अवस्था नफर्काए पार्टी विसर्जन हुने र नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने सामूहिक घोषणा पनि गरेका छन् । यता, एमालेको आज बस्ने भनिएको स्थायी कमिटी बैठक पुनः अनिश्चित समयका लागि स्थगित गरिएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जनाएका छन्।
काठमाडौं उपत्यकामा पुनः एकपटक खानेपानीको अभाव हुने भएको छ। सुरुङ परिक्षणका लागि मेलम्ची खानेपानी आयोजनाले पानी वितरण सेवा झन्डै एक महिना बन्द हुने जनाएको छ। जसले गर्दा काठमाडौं उपत्यकामा पानी अभाव हुने देखिएको हो। पानी सञ्चालनको पहिलो तीन महिनापछि सुरुङ पुनः परीक्षण गर्नु पर्ने हुनाले पानी बन्द गर्न लागिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको हो।
व्यापारघाटा न्यूनीकरण गर्न खानीजन्य ढुंगा, गिटी र बालुवा निर्यात गर्ने केन्द्र सरकारको निर्णय नसच्याए आफूले नै आवश्यक कदम चाल्ने मुख्यमन्त्री लालबाबु राउतले चेतावनी दिएका छन् । मुख्यमन्त्री राउतले बिहीबार विज्ञप्ति निकाल्दै बजेट वक्तव्यलाई सच्याउन संघीय सरकारको ध्यानाकर्षण गराएका हुन् । गिट्टी, बालुवा र ढुंगा निकासी खुला गर्ने निर्णयको राजनीतिक दल तथा नागरिक समाजले विरोध गर्दै गर्दा वातावरणविद्हरुले पनि यसप्रति चिन्ता व्यक्त गरेका छन्।
बुधबार ५५.७६ अंकले बढेको नेप्से परिसूचक बिहीबार २९.६४ अंकले बढेर हालसम्मकै उच्च अंक २ हजार ८ सय ५६.७७ मा पुगेको छ। गत आइतबार नेप्से परिसूचक २ हजार ८ सय २७ दशमलव ९३ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको थियो । सो रेकर्डलाई पनि तोड्दै नेप्से परिसूचक आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।
सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपालले आज चाईनिज ताईपेसँग प्रतिस्पर्धा गर्दैछ। उक्त खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । कुवेतको गर्मी मौसममा खेल्न नेपाली खेलाडीलाई कठिन हुने भनिए पनि ताइपेइ पनि सोही तापक्रमको चपेटामा पर्ने निश्चित छ। त्यसैले नेपाली प्रशिक्षक अलमुताइरीले आफ्नो युवा टिममाथि भरोसा रहेको बताएका छन्।





























प्रतिक्रिया