नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले आफू मन्त्रीबाट बाहिरिएपछि कार्यकाल भरि गरिएको कामको विवरण र खर्च सार्वजनिक गरेका छन्।
उपप्रधानमन्त्रीको हैसियतमा रहँदा आफूले सम्हालेको ‘उच्चस्तरीय समन्वय समिति’ र ‘कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)’मा संयोजकको भूमिकामा काम गरेका पोखरेलले सीसीएमसीको संयोजकको रूपमा प्राप्त सात महिनाको पारिश्रमिक ४ लाख ५६ हजार ४०० रुपैयाँ कोभिड कोषमा बुझाएको पनि बताए।
उनले मन्त्री हुँदा प्राप्त सबै सेवा सुविधाहरू सम्बन्धित ठाउँमा आइतबार (२३ जेठमा) बुझाइसकेको बताएका छन्।
पोखरेलले यस अवधिमा पार्टीको कोषमा आफूले ६ लाख ५ हजार रुपैयाँ लेभी योगदान गरेको सामाजिक संजालमार्फत उल्लेख गरे।
रक्षा र प्रधानमन्त्री कार्यालयको जिम्मेवार समालेका उनी ओली नेतृत्वको सरकारमा ३ वर्ष ३ महिना ७ दिन रहेका थिए।
जसपा एक पक्ष सरकारमा समावेश भएसँगै उनी पदमुक्त भएका छन्। उनले शनिबार नै मन्त्री क्वार्टरसमेत खाली गरिसकेकोे बताएका छन् ।
उनले पार्टी विषयमा भने सबैतिर छ पार्टी, तर काहीँ छैन पार्टी’को अवस्थालाई बदल्नु पर्ने बताएका छन् ।
पोखरेलले पार्टीको यो अवस्था बदल्नका लागि पार्टीको महासचिवको हैसियतले आफूले अभियान चलाउनु पर्ने उल्लेख गरेका छन्।
पार्टी एकता संकटमा परेको भन्दै उनले पार्टी एकतालाई जोगाउनु पर्ने आवश्यकता रहेको पनि उल्लेख गरेका छन् ।





























प्रतिक्रिया