नेकपा एमालेका निलम्वित नेता माधवकुमार नेपाल पक्षका सांसदहरूले ‘फ्लोर क्रस’ गरेकै कारण माओवादी केन्द्र नेतृत्वको दुईवटा प्रदेश सरकार जोगिएको छ।
जोगिएको प्रदेश सरकारहरू कर्णाली र सुदूरपश्चिम हुन्।
कर्णालीमा महेन्द्रबहादुर शाही र सुदूरपश्चिममा त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। दुवैले संसदमा विश्वासको मत प्राप्त गरेपछि सरकार जोगिएको हो।
भट्टले आज विश्वासको मत प्राप्त गरेका हुन्। उनले ५१ सांसद रहेको प्रदेश संसदबाट ३० मत प्राप्त गरे। जबकि उनलाई २६ मत भए बहुमतका लागि पुथ्यो।
प्राप्त मत माओवादी केन्द्रको १२ र एमालेको माधवपक्षीय १८ जना सांसदहरूको हो। ‘फ्लोर क्रस’ गरेर माधवपक्षीय सांसदहरूले भट्टलाई मत दिएका हुन्।
यससँगै भट्टको मुख्यमन्त्री पद जोगिएको हो र सरकारले निरन्तरता पाउने भएको छ। यसरी सुदूरपश्चिम प्रदेश सरकार टिकाउने काम माधवपक्षीय सांसदहरूले समर्थनसहित मत दिँदा भएको हो।
यसअघि कर्णालीका मुख्मयन्त्री महेन्द्रबहादुर शाहीले ३ वैशाखमा प्रदेश संसदमा विश्वासको मत लिएका थिए। त्यसबेला प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापाले शाहीलाई मतदान गरेर सरकार जोगाएका थिए। उनीहरू पनि माधवपक्षीय सांसदहरू हुन्।































प्रतिक्रिया