जसपा यादव पक्षद्वारा ११ मन्त्रीलाई स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाहीको चेतावनी

जसपा यादव पक्षद्वारा ११ मन्त्रीलाई स्पष्टीकरण, चित्तबुझ्दो जवाफ नआए कारबाहीको चेतावनी


जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षले उपप्रधानमन्त्री राजेन्द्र महतोसहित जसपाबाट मन्त्री बनेकाहरूलाई स्पष्टीकरण सोधेको छ। यादव पक्षले अध्यक्ष महन्थ ठाकुर पक्षका ११ जना नेता ओली सरकारमा सहभागी भएकाहरुलाई स्पष्टीकरण सोधेको हो।

जसपामा पनि नेतृत्वबीच चरम असन्तुष्टि छ । अहिले यादव पक्ष विपक्षी गठबन्धनमा र ठाकुर पक्ष ओलीसँग नजिक छ। कारवाहीको श्रृंखलाका बीच यादव पक्षले ती मन्त्रीलाई विभिन्न प्रश्न राखी ७ दिनभित्र जवाफ दिन भनेको हो।

त्यसो त जसपा उपेन्द्र यादव पक्षको जेठ ८ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा कोहि नेता सामेल भए पार्टीबाट स्वतः निष्कासन गरिने निर्णय गरेको छ।

सोही निर्णय अनुसार यादव पक्षले ती मन्त्रीलाई तपाईंहरूलाई किन कारबाही नगर्ने, भनी पहिलो चरणमा स्पष्टीकरण सोधेको यादव पक्षका एक नेताले केन्द्रबिन्दुलाई जानकारी दिए।

स्पष्टीकरणको चित्तबुझ्दो जवाफ नआए पार्टीको निर्णय अनुसार कारवाहि हुने उनले बताए।

स्पष्टीकरण सोधिएका नेताहरुलाई संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको? सरकारमा किन सहभागी भएको, तपाईंलाई किन र कुन आधारमा दलको नेता बनाइएको, पार्टी विधानमै नभएका काम–कारबाही गरेको र पार्टीमा गुटबन्दी गर्ने र अनुशासन उल्लंघन गर्ने/गराउने कार्य भइरहेको प्रश्न यादव पक्षले ठाकुर पक्षका ती मन्त्रीलाई सोधेको छ।

Logo