सर्वोच्च अदातल बार एशोसियसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतको सहयोगका लागि एमिकस क्युरी ‘अदालतको सहयोगी’ सिफारिस गरेको छ।
संवैधानिक कानूनका ज्ञाता वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई सिफारिस गरेको हो।
अब नेपाल बार एशोसियसनले एमिकस क्युरी पठाउन बाँकी छ। एशोसियसनका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता चन्डेश्वर श्रेष्ठले आज साँझसम्ममा एशोसियसनले दुई जना एमिकस क्युरी सिफारिस गर्ने केन्द्रविन्दुलाई बताए।
‘हामीले वर्कआउट गरिरहेका छौं, आज साँझसम्ममा हामी पनि सिफारिस गर्छौं’, अध्यक्ष श्रेष्ठले बताए।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको संवैधानिक इजलासले जेठको २६ गते अदालतको सहयोगी भनिने ‘एमिकस क्युरी’ सर्वोच्च बार र नेपाल बारबाट २÷२ जना मागेको थियो।
यसअघिको प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा पनि जबरा नेतृत्वको संवैधानिक इजलासले एमिकस क्युरीको सहायता लिएको थियो। त्यसबेला अदालतले पाँच जना एमिकस क्युरी मागेको थियो । संवैधानिक व्याख्या आवश्यक रहेको मुद्दामा अदालतले निर्णय वा फैसला गर्न एमिकस क्युरी लिने गर्दछ।
उनीहरूले इजलासमा छुट्टै बहस नोट पेश गर्न पाउँछन्। मुद्दामा राय दिन पाउँछन्। जसले गर्दा इजलासमा रहेका न्यायाधीशहरूलाई न्याय सम्पादनमा सजिलो हुने ठानिन्छ। जबरा नेतृत्वको इजलासले २६ जेठमै एमिकस क्युरीका लागि बहस गर्न दुई घण्टा समय विभाजन गरिसकेको छ।





























प्रतिक्रिया