गृहमन्त्री विष्णुप्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताएका छन्।
शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफूले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेहि भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताएका हुन्। उनले आफूसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताए। संवैधानिक व्यवस्था र कानूनी प्रवन्धका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिए। मन्त्री पौडेलले नतिजामुखी काम आफूले खोजेको पनि बताए।
मन्त्री पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि एकजना प्रहरी पनि आफूकहाँ नआउनको लागि निर्देशन गरे। आफू मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उनले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताए।
उनले राजनीतिक परिस्थितिको प्रभाव गृह मन्त्रालयमा पर्न नहुने पनि बताए। अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्न पनि उनले निर्देशन दिए।
मन्त्री पौडेलले आफू मन्त्रालयको कामका साथै राजनीतिक काममा पनि लाग्नु पर्ने भएकाले मन्त्रालयमा समय दिन नसक्ने पनि बताए। उनले गृह सचिवसँग दिनमा एकपटक भेट गर्ने भन्दै प्रहरी प्रमुखलाई आवश्यक परे मात्रै भेट्न अन्यथा गृह सचिवसँगकै समन्वयमा काम गर्न निर्देशन दिए।































प्रतिक्रिया