नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक सभापति बन्ने इच्छा छ सहयोग गर्नुहोस् भन्दै आफूनिकट केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन्।
उनले शुक्रबार आफूनिकट केन्द्रीय सदस्यहरुलाई यतिबेला कांग्रेस हाक्न परिपक्व र अनुभवी नेतृत्व चाहिन्छ, त्यसका लागि म तयार छु भन्दै सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।
‘एकपटकका लागि कांग्रेसको नेतृत्व गर्ने इच्छा छ, त्यसका लागि तपाईंहरुले मलाई सहयोग गर्नुपर्यो,’ पौडेलले बैठकमा भने, ‘मलाई शेरबहादुरजीसँग दाँजेर हेर्नु भएन । मैले न पार्टीको नेतृत्व गर्न पाएको छु, न सरकारको ।’
१४ औं महाधिवेशनमा आफ्नो नेतृत्वमा सबैजना समेटिन सक्ने भन्दै पौडेलले राष्ट्रिय अन्तर्राष्ट्रिय चुनौती सामना गरेर पार्टीलाई बलियो बनाउन आफू अगाडि बढ्ने समेत बताए।
बैठकमा उपस्थित कांग्रेस उप–सभापति विमलेन्द्र निधिले अघिल्लोपटक रामचन्द्रजीलाई मैले छोडेकै हो । दिलोज्यान दिएर जिताउन लागिपरेकै हो । अब त मलाई सघाउनुपर्यो नि भन्दै उल्टै रामचन्द्र पौडेलसँग सहयोगको अपिल गरेका छन्।
उनले सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलपछि टिममा आफू सिनियर रहेको भन्दै आफ्नो राजनीतिक जीवनको फेहरिस्त सुनाए। फेरि अन्तिममा सभापतिमा आफूले उम्मेदवारी दिने भएकाले सहयोगको अपेक्षा गरे।
कांग्रेसभित्र सभापति देउवा र वरिष्ठ नेता पौडेलले नेतृत्वबाट अवकास लिनुपर्ने कतिपय नेताहरुले धारणा राख्दै आएका छन् । पौडेलले आफूलाई देउवासँग नदाज्न आग्रह गर्दै आफू नेतृत्वका लागि टेष्ट नभइसकेका जीकिर गरे । ‘देउवाजीसँग मलाई दाँजेर एउटै बास्केटमा नराख्नूस्,’ उनले भने ।
१४ औं महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि नेताहरुको दौडधुप सुरु भएको हो ।
कांग्रेस सभापति देउवा र उपसभापति विमलेन्द्र निधिले तयारी तीव्र पारेपछि बरिष्ठ नेता पौडेलले पनि सक्रियता बढाएका हुन् । उनले आफूनिकट केन्द्रीय सदस्यहरुसँग सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन्।
उनले शुक्रबार बोलाएको आफूनिकट केन्द्रीय सदस्यको बैठकमा डा.शशांक कोइराला, डा.शेखर कोइराला, डा.मिनेन्द्र रिजाल, डा.चन्द्र भण्डारी, डा.रामशरण महत, अर्जुननरसिंह केसी, गगनकुमार थापा, दिलेन्द्र बडु, प्रदिप पौडेल, कमला पन्त, कल्याण गुरुङ, हृदयराम थानी, जीवन परियार, बद्रि पाण्डे, धनराज गुरुङ लगायत काठमाडौंमा उपलब्ध पौडेल पक्षका केन्द्रीय सदस्यहरु उपस्थित रहेका थिए।































प्रतिक्रिया