प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका ऐतिहासिक कामका कारण नेकपा एमाले जनतामाझ झन लोकप्रिय हुँदै गएको बताएका छन्।
बुधबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा दशौँ महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले वर्तमान सरकारले ऐतिहासिकरुपमा अभूतपूर्वक ढंगले विकास निर्माणको गतिलाई अघि बढाएका कारण जनतामा लोकप्रिय हुँदै गएको बताएका हुन्।
उनले भने, “योजनावद्ध दृष्टिकोणसहितको विकासको तिब्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिवद्धता र तदनुसारको क्रियाकलापहरुले हाम्रो पार्टी झन बढी लोकप्रिय हुँदै अगाडि बढीरहेको छ।”
बिमिस्टेक, लगानी सम्मेलन लगायत अन्तर्राष्ट्रिय स्तरका विभिन्न सम्मेलन गरेर ती सम्मेलनमा सही धारणा र विचार अघि सारेका कारण नेपालप्रति विश्वको ध्यानाकर्षण भएको दाबी पनि उनले गरे।
सरकारले राम्रो काम गरेर जनतामाझ लोकप्रिय हुँदै जाँदा पार्टीभित्र भित्रै बेग्लै योजना बन्दै गएको र ती योजनाहरु व्यवहारमा भद्धा ढंगले प्रकट हुँदै आएको टिप्पणी उनले गरे।
उनले भने, “खासगरि सञ्चारमाध्यममा पार्टीका नीतिहरु अनि पार्टी नेतृत्वको धज्जी उडाउने, गाली बेइजति र अपमान गर्ने र सरकारले गरेका राम्रा उपलब्धिहरुको चर्चा नगर्ने लगायतका थुप्रै प्रयासहरु चलिरहे। प्रचारात्मक ढंगले, यस्ता कुराले जनतामा वितृष्णा र नैराश्यता पैदा भएको छ। जनता दुःखी छन् र निराश छन्।”
प्रधानमन्त्री ओलीले सरकारको नेतृत्वको दुई वर्षपछि पार्टीभित्रैबाट पदीय आकांक्षाका लागि असाधारण अस्वस्थता सुरु भएको दाबी गरे। पार्टीभित्र अस्थिरता पैदा गर्ने कार्यमा केही व्यक्तिहरु जालझेल, षडयन्त्र, तिकडमका साथ गुटबन्दीमा क्रियाशील भएको जिकिर प्रधानमन्त्री ओलीले गरे। अहिले त्यो खेल विरोधीहरुसँगको साँठगाठमा प्रवेश गरेको पनि उनले टिप्पणी गरे। पार्टीभित्र पार्टी सञ्चालनका लागि अबैध सम्झौता गर्नुपर्ने अवस्था श्रृजना गरिएको उनले दाबी गरे।
उनले गुटबन्दीमा संलग्न केही व्यक्तिका क्रियाकलापका कारण पार्टी असहज, असामान्य स्थिति र दुर्घटनातर्फ जाँदैछ भन्ने स्थितिसम्म श्रृजना भएको बताए। उनले पार्टीभित्रैको एक समूहले पार्टी कब्जा गर्ने उद्देश्य साथ आफूलाई साधारण सदस्यता पनि नरहने गरि निष्कासन गरेको स्मरण गरे।
पार्टीभित्रैबाट अनावश्यक झमेला झिक्ने, संसदलाई प्रभावकारी हुन नदिने, विधेयकहरु बन्न नदिएर अल्झाउने काम भएपछि आफूले संसद विघटन गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापनापछिको पहिलो दिनको संसद बैठकमा भएका क्रियाकलापको पनि चर्चा गरे।





























प्रतिक्रिया