प्रतिनिधिसभा विघटनको टुंगो नलाग्दै निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक(भिडियो)

प्रतिनिधिसभा विघटनको टुंगो नलाग्दै निर्वाचन आयोगद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक(भिडियो)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

निर्वाचन आयोगले प्रतिनिधिसभाको मध्यावधि निर्वाचनको लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले सोमबार विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचनका लागि असार ३१ देखि साउन १५ गतेसम्म दल दर्ताको समय दिएको हो। सरकारले संसद विघटन गरि कात्तिक २६ र मंसिर ३ गते मध्यावधि निर्वाचन घोषणा गरेको थियो। आयोगले सो अनुसार कार्यतालिका सार्वजनिक गरेको हो।

प्रतिनिनिधसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला असार २८ गते आउने सम्भावना बढेको छ। संवैधानिक इजलासमा एमीकस क्युरीले राय दिएसँगै सोमबारबाट सुनुवाइ सकिएपछि सर्वोच्चले असार २८ गतेका लागि मुद्दा हेर्दाहेर्दैमा रोखेपछि सोहि दिन फैसला आउने सम्भावना बढेको हो। असार ९ देखि शुरु भएको बहस असार २१ मा सकिएको हो। 

राष्ट्रियसभाको आजको बैठकमा दुई वार्षिक प्रतिवेदन पेश गरिएका छन्। यस्तै बैठकले राष्ट्रियसभाका नवनिर्वाचित सदस्य डा खिमलाल देवकोटालाई प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा र दृगनारायण पाण्डेयलाई राष्ट्रिय सरोकार तथा समन्वय समितिमा मनोनयन गरेको छ। आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरूले विघटनका पक्ष र विपक्षमा आफ्ना तर्क पेश गरेका छन् भने सांसदहरूले अहिले नै राष्ट्रियसभा अधिवेशन तत्काल अन्त्य नगर्न सुझाव दिएका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार चिनियाँ राष्ट्रपति सी जिङपिङद्वारा आयोजित भर्चुअल बैठकमा सहभागी हुने भएका छन्। चिनियाँ कम्युनिस्ट पार्टीको शतवार्षिकीको अवसरमा चिनियाँ राष्ट्रपति सीले दक्षिण एसीयाली शीर्ष नेताहरूसँग भर्चुअल बैठक आयोजना गर्न लागेका हुन्। प्रधानमन्त्री ओली राष्ट्रपति सीले आयोजना गरेको भर्चुअल बैठकमा मंगलबार अपरान्ह साढे ५ बजे सहभागी हुने प्रधानमन्त्रीका सञ्चारविज्ञ रामशरण बजगाईंले केन्द्रबिन्दुलाई जानकारी दिए। जुममार्फत् हुन लागेको उक्त बैठकमा नेपालका केही शीर्ष नेताहरुको पनि सहभागिता रहने छ। 

पछिल्लो दुई सातादेखि निरन्तर ओरालो लाग्दै आएको नेप्से परिसूचक सोमबार पनि घटेको छ। साताको पहिलो दिन आइतबार ८.४८ अंकले घटेको शेयर बजार दोस्रो दिन सोमबार ११.७८ अंकले घटेर २ हजार ८२२.७३ अंकमा झरेको हो। आज कारोबारमा आएका अधिकांश कम्पनीको शेयर मूल्य घटेको छ भने, कारोबार रकममा समेत भारी गिरावट आएको छ । शेयर बजार निरन्तर ओह्रालो लाग्नुमा मौद्रिक नितीको पर्खाइ, असार मसान्तको दबाब र राजनीतिक अन्यौलता कायम हुनुले लगानीकर्ताले लगानी नबढाउँदा बजारमा प्रभाव परेको शेयर विश्लेषकहरूको भनाइ छ। 

Skip This
Skip This
Logo