प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा पुनर्स्थापना हुनुले जनताको जीत भएको प्रतिक्रिया दिएका छन्।
सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने फैसला गरेसँगै सभामुख सापकोटाले सर्वोच्च अदालतको संसद पुनर्स्थापना गर्ने फैसलाले जनताको जीत भएको प्रतिक्रिया दिएका हुन्। उनले नेपालको संविधान प्रष्ट रहेको भन्दै त्यही प्रष्टताका साथमा सर्वोच्च अदालतले फैसला गरेको बताए। सर्वोच्च अदालतले राजनीतिक निकास दिएको र राज्यका अंगहरुलाई पनि दिशानिर्देश गरेको उनले उल्लेख गरे।
सभामुख सापकोटाले नयाँ अध्यायको सुरुवात भएको भन्दै राजनीतिक दलहरुलाई विगतको समीक्षा गर्दै संसदलाई प्रभावकारी रुपले सञ्चालन गर्नका लागि व्यवस्थित र श्रृङ्खलावद्ध योजनाका साथमा अघि बढ्न पनि आग्रह गरेका छन्। प्रतिनिधिसभा विघटन गरेर राजनीतिक व्यवस्थामाथि नै धक्का दिन खोजिएको भन्दै उनले अब त्यस प्रकारको खतराको अन्त्य भएको पनि बताए।
सर्वोच्च अदालतले फैसलामा उच्चस्तरीय व्याख्या गरेको र सिद्धान्त प्रतिपादन गरेको उनले बताए।
सभामुख सापकोटाले अब आफ्नो भूमिका र दायित्व पनि बढेको बताए। आफूले संसदको गरिमा र ओझलाई बढाउनका निम्ति जिम्मेवारीपूर्वक काम गर्ने पनि उनले प्रतिवद्धता व्यक्त गरे।





























प्रतिक्रिया