कानूनको सर्वोच्चता र विधिको शासनलाई अङ्गीकार गर्दै बाहिरियौँ: नेम्वाङ

कानूनको सर्वोच्चता र विधिको शासनलाई अङ्गीकार गर्दै बाहिरियौँ: नेम्वाङ

केन्द्रबिन्दु
0
Shares

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्री वसन्तकुमार नेम्वाङलाई बिदाइ गरेको छ। मन्त्रालयमा आयोजित समारोहमा सचिव हरिप्रसाद बस्याल, उच्चपदस्थ कर्मचारी एवं विभाग, प्राधिकरण, समिति र संस्थानका पदाधिकारीले मन्त्री नेम्वाङलाई बिदाइ गरेका हुन्। कार्यक्रममा मन्त्री नेम्वाङले संसदीय प्रणाली र दलीय व्यवस्थाभन्दा बाहिर गएर अदालतले फैसला गरे पनि कानूनको सर्वोच्चता र विधिको शासनलाई अङ्गीकार गर्दै बाध्यात्मकरूपमा सरकारबाट बाहिरिनुपरेको बताए। 

उनले शक्तिपृथकीकरणको सिद्धान्तविपरीत अदालतको फैसला आएको भए पनि त्यसलाई स्वीकार गरेर आफूहरू सरकारबाट अलग भएको उल्लेख गरे। परमादेशभन्दा जनादेश नै ठूलो हुने भएकाले सबै विषयको निरुपण समेत जनताले नै गर्ने उनको भनाइ थियो। जनताले गर्ने फैसला नै सबैभन्दा ठूलो विषय हुने मन्त्री नेम्वाङको भनाइ थियो। 

अदालतको अनपेक्षित फैसलापछि आफूले यस मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुपरेको उल्लेख गर्दै उनले पुनःअदालतकै त्यस्तै फैसलापछि बाहिरिएको बताए। उनले जे जति दिन काम गर्न पाइयो, त्यसमा गौरवका साथ कार्यसम्पादन गरिएको स्पष्ट पारे। 

मन्त्रालयका सचिव बस्यालले मन्त्रालयले अत्यन्तै परिपक्व नेतृत्व र अभिभावक पाएको भन्दै छोटो समयमा पनि प्रभावकारी कार्यसम्पादन भएको बताए। परिस्थिति फेरिएकाले यसलाई सहजरुपमा लिएर आगामी दिनमा कार्यसम्पादन गर्ने उनको भनाइ थियो। सो अवसरमा मन्त्रालय मातहतका विभाग, प्राधिकरण, संस्थान र समितिका पदाधिकारीको उपस्थिति थियो।

Skip This
Skip This
Logo