जटिल बन्दै कांग्रेसको क्रियाशील सदस्यता वितरण, असन्तुष्ट कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा धर्ना

जटिल बन्दै कांग्रेसको क्रियाशील सदस्यता वितरण, असन्तुष्ट कार्यकर्ताहरु केन्द्रीय कार्यालयमा धर्ना

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति नजिकिँदै गर्दा क्रियाशील सदस्यता वितरणको विषय जटिल बन्दै गएको छ।

क्रियाशील सदस्यता नवीकरण तथा वितरणका लागि केन्द्रबाट जारी भएको न्युनतम मापदण्ड मिच्ने काम भएको भन्दै असन्तुष्ट कार्यकर्ताहरु पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना बसेका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति धनुषाका नेता कार्यकर्ताहरु संस्थागत निर्णय कार्यान्वयन गर्न माग गर्दै पार्टी केन्द्रीय कार्यालय परिसरमा धर्ना बसेका छन् । उनीहरुले क्रियाशील सदस्यता वितरण भएको धाँदली भएको, पार्टीको विधान, नियमावली र केन्द्रीय परिपत्र विपरित नयाँ क्रियाशील सदस्यता वितरण गरेको दाबीसहित निर्णय सच्याउन माग गरेका छन् । 

धनुषा निर्वाचन क्षेत्र नम्बर १ का महासमिति सदस्य राम उदय यादवले विधि र विधान भन्दा बाहिर गएर मनपरी ढंगले सदस्यता वितरण गरिएको बताए। उनले सभापतिलाई वाईपास गरेर, नगरसभापतिलाई जानकारी नै नगराई एकलौटी कब्जा गर्ने मनसायका साथ क्रियाशील सदस्यता वितरण गरिएको बताए। उनले ३३ वटा वडामा विधान मिचेर सदस्यता वितरण गरिएको दाबी गरे। उनले विधान मिचेर वितरण गरिएका सदस्यता खारेज नगरे आफूहरु आमरण अनसन बस्ने चेतावनी पनि दिए।

त्यसैगरी नेपाली कांग्रेस बाराका नेता तथा कार्यकर्ता पनि सदस्य वितरणमा धाँदली भएको भन्दै धर्ना बसेका छन्। नेपाली कांग्रेस जीतपुर वडा नम्बर ७ का सभापति रामबाबु गुप्ताले आफ्नो वडाबाट मात्रै ९६ जनालाई चोरबाटोबाट सक्रिय क्रियाशील सदस्यता थप्ने काम भएको दाबी गरे। उनले त्यसबारे सम्बन्धीत निकायलाई जानकारी गराई ध्यानाकर्षण गराउँदा पनि नभएपछि आफू केन्द्रमा आएर धर्ना बसेको बताए।

धनुषाका पूर्वसांसद डाक्टर चन्द्रमोहन यादव लोकतन्त्रको लामो इतिहास बोकेको पार्टीको केन्द्रीय कार्यालयमा न्याय माग्न धर्ना बस्नुपर्ने अवस्था श्रृजना हुनु बिडम्बनापूर्ण भएको बताए। धनुषाको क्षेत्र नम्बर १ र ४ मा एकपक्षी ढंगले नयाँ क्रियाशील सदस्यता थप्ने काम भएको भन्दै त्यो नसच्चिएसम्म आफूहरु पार्टी कार्यालयमा धर्ना बस्ने बताए।

क्रियाशील सदस्यतालाई नेपाली कांग्रेसको मेरुदण्ड मानिन्छ । केन्द्रीय क्रियाशील सदस्यताछानविन समितिले असार महिनामा क्रियाशील सदस्यता वितरणमा देखिएको समस्या निरुपण गरि अन्तिम टुंगो लगाउने बताएको थियो। तर अधिकांश जिल्लामा क्रियाशिल सदस्यता वितरण सम्बन्धमा विवाद चुलिदै गएको छ । दैनिक जसो पार्टी कार्यालयमा धर्ना बस्ने कार्यकर्ता बढ्दै जानुले विवाद समाधान भन्दा पनि जटिल बन्दै गएको पुष्टि गरेको छ।

Logo