नेकपाका दुई अध्यक्ष बीच छलफल, दशैंपछि मात्र मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना

नेकपाका दुई अध्यक्ष बीच छलफल, दशैंपछि मात्र मन्त्रिमण्डल पुनर्गठन हुने सम्भावना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मन्त्रिमण्डल पुनर्गठन गर्ने विषयमा छलफल भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई अध्यक्ष बीच मन्त्रिमण्डल पुनर्गठनका विषयमा छलफल भएको हो । आज बिहान ११ बजेदेखि चलेको भेटवार्तामा पार्टी एकताका बाँकी काम, सरकारले गर्ने संवैधानिक र राजनीतिक नियुक्ति, मन्त्रिमण्डल पुनर्गठन लगायतका विषयमा छलफल भएको जनाइएको छ । दुई अध्यक्ष बीचको बैठक करिब तीन घण्टासम्म चलेको स्रोतको दाबी छ ।

गत असोज १५ मा बसेको मन्त्रिपरिषद्को बैठकले तीन जनालाई राजदूतमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । जसमध्ये पूर्वअर्थमन्त्री एवं प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकार डा. युवराज खतिवडा अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मी बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका रहेका थिए । प्रधानमन्त्री ओलीले एकलौटी रुपमा राजदूत नियुक्त गरेपछि शीर्ष नेताहरु असन्तुष्ट बनेका थिए । साथै, गत असोज २० मा बसेको सचिवालय बैठकमा सचिवालयका अधिकांश सदस्यहरुले आपत्ति समेत जनाएका थिए ।

त्यस्तै दुई अध्यक्ष बीच मन्त्रिमण्डल पुनर्गठनका विषयमा लामो समयदेखि छलफल भएपनि अहिलेसम्म कुनै ठोस निष्कर्ष भने निस्किएको छैन । अहिले रिक्त रहेका तीन मन्त्रालयमा मात्रै मन्त्री नियुक्त गर्ने पक्षमा प्रधानमन्त्री ओली उभिएका छन् भने प्रचण्ड दुई वर्ष पुगेका सबै मन्त्रीहरुलाई रिसेट गर्नुपर्ने पक्षमा रहेका छन् । अहिले अर्थ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र शहरी विकास मन्त्रालय रिक्त रहेका छन् । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिएपछि अर्थ मन्त्रालय प्रधानमन्त्री ओलीले नै सम्हाल्दै आएका छन् । बालुवाटार निकट स्रोतका अनुसार अर्थ र सञ्चार मन्त्रालय प्रधानमन्त्री ओलीले पूर्व एमाले पक्षमा पार्न कसरत गरिरहेका छन् भने प्रचण्ड जसरी पनि यी दुई मन्त्रालय हत्याउने पक्षमा रहेका छन् । त्यसैले पनि मन्त्रिमण्डल पुनर्गठन गर्ने विषय दशैं पछाडि सर्न सक्ने सम्भावना बलियो बनेको छ ।

त्यस्तैगरी गत भदौ २६ गते सम्पन्न भएको स्थायी कमिटी बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्न निर्देशन दिएको थियो ।

Logo