बीपी स्मृति दिवसः कोइरालाको योगदानको सम्झना

बीपी स्मृति दिवसः कोइरालाको योगदानको सम्झना

केन्द्रबिन्दु
0
Shares

प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ३९ औं स्मृति दिवस बुधवार विशेष कार्यक्रम गरि मनाइएको छ।

प्रजातान्त्रिक आन्दोलनका पुरुष बीपी नेपाली राजनीतिका सर्वाधिक सम्मानीत नेता हुनहुन्छ, नेपाली कांग्रेस पार्टीको स्थापना गरि राणा शासनको अन्त्य गर्न नेतृत्वदायी भूमिका खेलेका उनी २०१५ को आम निर्वाचनपछि पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए। स्मृति दिवसको अवसरमा सुन्दरीजलस्थित बीपी संग्रहालयमा विशेष कार्यक्रम गरि बीपी कोइरालाको शालिकमा माल्यार्पण गरिएको छ । सो अवसरमा नेताहरुले कोइरालाको राजनीतिक, साहित्य एवं बहुआयामिक व्यक्तित्वमाथि चर्चा गरेका थिए।

त्यसैगरी सुशील कोइराला मेमोरियल फाउण्डेसनले बीपी स्मृति दिवसकै अवसरमा बुधवार गरेको वेभिनारमा प्रोफेसर डाक्टर जयराज आचार्यले कोइरालाको व्यक्तित्वको चर्चा गर्दै तत्कालिन समयमा अलइण्डिया रेडियोले उनको निधनबारे प्रशारण गरेको समाचार जस्ताको त्यस्तै वाचन गरेर सुनाएका थिए। आचार्य तत्कालिन समयमा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापक थिए।

जीवनभर प्रजातन्त्र र मानवअधिकारका लागि कसैसँग कुनै प्रकारको सम्झौता नगरेका कोइरालालाई दूरदर्शी राजनेताका रुपमा स्मरण गरिन्छ । ३२ वर्षको उमेरमा नेपाली राष्ट्रि«य कांग्रेस स्थापना गरि राणाविरुद्व क्रान्तिको सुत्रपात गरेका बीपी २००७ सालको क्रान्तिका शीर्ष नेता थिए। जुन क्रान्तिको बलमा १०४ वर्षे राणा शासनको अन्त्य भएको थियो । क्रान्तिपछि संविधानसभा निर्वाचनमार्फत् प्राप्त उपलब्धिको रक्षा गर्ने मार्गचित्र बनेको थियो तर राजा कुनै हालतमा संविधानसभामा चुनाव गराउन तयार नभएपछि बीपीले संसदको चुनाव स्विकारे।

२०१५ सालको आम चुनावमा नेपाली कांग्रेसलाई दुईतिहाई बहुमत दिलाएर पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका थिए। बीपी नेतृत्वको सरकारले बिर्ता उन्मुलन, वनको राष्ट्रि«यकरण, क्रान्तिकारी भूमिसुधार, वैज्ञानिक कर प्रणाली लागू गरेको थियो । उनको पालामा शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य सुधारका काम भए । तर जननिर्वाचित सरकारले १८ महिना काम गर्न पाउँदा नपाउँदै २०१७ साल पुष १ गते तत्कालीन राजा महेन्द्रले निर्वाचित सरकार र संसद भंग गरेपछि बीपीले आठ वर्ष सुन्दरीजल जेलमा बिताए। 

रिहा भएपछि मुलुकभित्र बसेर सशक्त आन्दोलन गर्ने वातावरण नदेखेर उनी भारत प्रवास गए र त्यहीँबाट पञ्चायतविरुद्ध, सशस्त्र क्रान्ति चलाए। आठ वर्ष भारत प्रवासमा बिताएपछि मुलुकको राष्ट्रियता र सार्वभौमिकता खतरामा पर्ने संकेत देखेर बीपी २०३३ साल पुष १६ गते राष्ट्रि«य एकता तथा मेलमिलापको नीतिसहित स्वदेश फर्किए। 

प्रजातन्त्रका लागि लडे पनि राष्ट्रि«यताको सवालमा आफ्नो र राजाको घाँटी जोडिएको अभिव्यक्ति दिए। त्यसको केही वर्षमै मुलुकमा जनमत संग्रह घोषणा भयो । पञ्चहरुले धाँधली गरी बहुदल हराएको भन्दै परिणाम स्विकार नगर्न पार्टीभित्र तीव्र दबाव परे पनि उनले परिणाम स्विकार गरे। मुलुकको सार्वभौमिकताका सामु प्रजातन्त्र गौण हुन्छ भन्ने कुरालाई व्यवहारमै उतार्नु बीपीको चानचुने निर्णय थिएन । बीपीको निधन भएको चार दशक पुग्नै लाग्दा उनले प्रतिपादन गरेको मेलमिलापको नीति सान्दर्भीक भएको छ।

Logo