नेकपा एमालेका नेता महेश बस्नेतले एमाले फुटाउने अध्यादेश ल्याए देशभर विद्रोहको आगो बाल्ने चेतावनी दिएका छन्।
नेता बस्नेतले अघिल्लो सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गर्ने र एमाले फूटाउने अध्यादेश ल्याए देशभर आगो बाल्ने चेतावनी दिएका हुन्।
शनिबार युथ फोर्सको भ्याली कमान्ड गठन गर्दै नेता बस्नेतले एमाले सरकारले गरेको राजनीतिक नियुक्ति खारेज गर्ने षड्यन्त्र भएको र एमाले फुटाउन अध्यादेश ल्याउने षड्यन्त्र भइरहेको बताए।
बस्नेतले भने, ‘पहिले एमाले बलियो बनाउन अध्यादेश ल्याउँदा, अध्यादेश फेल गराइयो, अहिले फेरि एमाले फुटाउन अध्यादेश ल्याइयो भने देशभरि आगो बल्छ’। नेता बस्नेतले राष्ट्रपतिविरुद्ध महाभियोग लगाउनेबारे नसोच्न पनि सत्तारुढ गठबन्धनलाई आग्रह गरेका छन्।
बस्नेतले हालको सत्तारुढ गठबन्धनसँग मात्रै १२९ सांसदको समर्थन रहेको बताए। ‘नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्षका गरि जम्मा १२९ सांसदको समर्थन छ गठबन्धन सँग,’ बस्नेतले दावी गरे।
प्रकाशित: ९ साउन २०७८ १७:१७ शनिबार