माधव नेपाललाई फकाउने गठबन्धनको यस्तो छ ‘प्याकेज’

माधव नेपाललाई फकाउने गठबन्धनको यस्तो छ ‘प्याकेज’

केन्द्रबिन्दु
0
Shares

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको पर्खाइमा छ। तत्काल कानुनी अड्चन रहेको र सुल्झिने बित्तिकै सरकारमा सहभागी गराउन गठबन्धन सरकार पर्खाइमा रहेको हो।

गठबन्धनले नेपाल पक्षलाई ‘विशेष प्याकेज’ सहित सरकारमा सहभागी गराउने तयारी गरेको स्रोतले जनाएको छ। स्रोतका अनुसार गठबन्धनले नेपाल पक्षबाट संघीय मन्त्री, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशमन्त्री, राजदूतसँगै विभिन्न संवैधानिक निकायमा नियुक्ति गर्ने भएको छ।
 
प्रदेश प्रमुख – २

गठबन्धन सरकारले सात प्रदेशमध्ये दुई प्रदेशमा वरिष्ठ नेता नेपाल पक्षबाट प्रदेश प्रमुख नियुक्त गर्ने भएको छ।

कुन–कुन प्रदेश भन्ने चाहिँ टुङ्गो लागिसकेको छैन। मंगलबार मात्रै शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गण्डकी प्रदेशमा कांग्रेसका पृथ्वीमानसिंह गुरुङ र लुम्बिनी प्रदेशमा माओवादी केन्द्रका अमिक शेरचनलाई नियुक्तिको लागि सिफारिस गरिसकेको छ।

हाल प्रदेश १, प्रदेश २, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एमाले अध्यक्ष केपी ओलीले नियुक्त गरेका प्रमुखहरू छन्।

मुख्यमन्त्री –२
गठबन्धनले प्रदेश १, बागमती र लुम्बिनी प्रदेशमा त्यहाँको प्रदेश सरकार ढाल्ने र तीनमध्ये दुई प्रदेशमा माधवपक्षलाई मुख्यमन्त्री पद दिने भएको स्रोतले जनाएको छ। बाँकी रहेको एक प्रदेशमा चाहिँ कांग्रेसलाई मुख्यमन्त्री पद दिने भएको छ।

हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री छन्। गण्डकी प्रदेशमा कांग्रेसको र प्रदेश २ मा जनता समाजवादी पार्टीको मुख्यमन्त्री छन्।

संघीय मन्त्री–७ 
२५ वटा रहेको संघीय मन्त्रालयमध्ये सातवटा मन्त्रालय माधव नेपाल पक्षलाई दिने गठबन्धन सरकारको यसअघिकै तयारी हो। यो संख्या गठबन्धनबाट सत्ता नेतृत्व गरेको दल कांग्रेस, माओवादी केन्द्र र जसपाले पाउने भनिएको भन्दा अधिक हो। बढी मन्त्रालय दिने भनिनुको पछि माधव पक्षलाई फकाउन हो।

प्रदेशमा पनि मन्त्री
गठबन्धनले हरेक प्रदेशमा कम्तीमा दुई जनाको दरले माधव पक्षलाई मन्त्री दिने पनि तयारी गरेको छ।

राजदूत र संवैधानिक नियुक्ति
गठबन्धन सरकारले राष्ट्रिय योजना आयोगको सदस्य माधव नेपालपक्षीय डा. रामकुमार फुयाललाई बनाएको छ। यसअघि डा. खिमलाल देवकोटालाई पनि उपनिर्वाचनमार्फत् राष्ट्रिय सभा सदस्य गठबन्धनले बनाइसकेको छ।

यसरी माधवपक्षलाई गठबन्धनका अन्य घटकहरूले सहयोग गर्दै आएका छन्। अब, संवैधानिक निकायहरूसँगै राजदूत नियुक्तिमा पनि अवसर दिने गठबन्धनको तयारी रहेको स्रोतले जनाएको छ। 

Logo