सत्ता गठबन्धनको निर्णयः मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई

सत्ता गठबन्धनको निर्णयः मन्त्रालय बाँडफाँटको जिम्मा शीर्ष नेतालाई


प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले मन्त्रालय बाँडफाँटको जिम्मा गठबन्धनका शीर्ष नेतालाई दिएको छ। आज बालुवाटारमा बसेको गठबन्धनको बैठकले मन्त्रालयको बाँडफाँटको जिम्मा शीर्ष नेताहरुलाई दिने निर्णय गरेको हो।

एमालेको माधव नेपाल पक्षसमेत सहभागी बैठकले माधव नेपालसहितलाई उक्त जिम्मा दिएको छ। त्यस्तै आजको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम चाँडो टुंगो लगाउन कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का नेतृत्वको कार्यदललाई निर्देशनसमेत दिएको छ।

आज मन्त्रिपरिषद्लाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बैठक बसेको थियो। 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए।

जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाबाट अध्यक्ष चित्रबहादुर केसी र दुर्गा पौडेल सहभागी थिए।

सत्ता गठबन्धनको बैठकमा एमालेको माधव नेपाल समूहको प्रतिनिधित्व डा. विजय पौडेलले गरेका थिए ।

कांग्रेस सभापति देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्। 

हाल सरकारमा कांग्रेस र माओवादीका दुई–दुई जना मन्त्री र एकजना राज्यमन्त्री मात्र छन्।

Logo