सत्तारुढ नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सबै नागरिकलाई कोभिड शिल्डको दोस्रो डोज खोप तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।
कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन नपाएकाहरुले चर्को गुनासो गरिरहेका बेला उनले त्यसको तत्काल व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘हाम्रो मित्र युवा समूह’ले शनिबार बिहान काठमाडौंको ढल्कोमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले कोभिड शिल्डको दोस्रो डोज खोप नपाएका जनताको जायज गुनासो पूरा गर्न सरकारले ध्यान दिनु पर्नेमा जोड दिए।
“जनताले मलाई जनप्रतिनिधि भएको नाताले दोस्रो डोज खोप पाउन सकिएन नि, तपाईंले आवाज उठाई दिनुपर्याे भन्छन्। जनताका ती जायज माग हुन्।” उनले भने, “सरकारले कोभिड शिल्डको दोस्रो डोजबाट बञ्चित भएका सबैैलाई त्यसको व्यवस्था गर्न ध्यान दिनु पर्दछ।”
नेता सिंहले कोरोनाविरुद्धको खोप सबै नागरिकलाई पुर्याउन सरकारले प्राथमिकता दिएपनि सोही अनुसारको काम गर्न नसकेको गुनासोसमेत गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाटै आफ्नो पहिलो प्राथमिकता कोरोनाविरुद्धको खोप भनेको स्मरण गराउँदै उनले सोही अनुसारको काम गरेर देखाउन आग्रह गरे।
“प्रधानमन्त्रीज्यूले संसदमा समेत आफ्नो पहिलो प्राथमिकता पनि खोप हो, दोस्रो प्राथमिकता पनि खोप हो, तेस्रो प्राथमिकता पनि खोप हो भन्नु भएको छ। अब त्यही अनुसारको कदम चाल्नु पर्याे नि। कामबाटै उहाँले गर्नु भएको प्रतिवद्धता पूरा गरेर देखाउन पनि ध्यानाकर्षण गराउन चाहन्छु।”
कार्यक्रममा नेता सिंहले छत्रपाटी निःशुल्क चिकित्सालयको विस्तारित नयाँ भवन कोठा निर्माणका लागि सहयोग गर्ने सबैैलाई सम्मानसमेत गरेका थिए।





























प्रतिक्रिया