मन्त्रीपरिषद बैठकले मंगलबार रेलवे कम्पनीका महाप्रवन्धक गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि तिल्मिलाएका छन् ।
तिल्मिलाएका भट्टराईले सामाजिक सञ्जालमा नानाथरी अभिव्यक्ति दिन थालेका छन् । ‘म मरेको रेल्वे कम्पनीमा आएको १३ महिना भयो, कोमाबाट उठाएर यहाँसम्म ल्याएको हो, २२ दिनमै मैले आचरण बिपरित काम गरेको भनेर मूल्याङ्कन गर्ने यो कस्तो चुस्त दुरुस्त सरकार ?’ उनले फेसबुकमा उल्लेख गरेका छन्, ‘यसरी कर्मचारीको, कामको, आचरणको मूल्याङ्कन २२ दिनमै गर्ने सरकार भए त यो मुलुक बेपत्तै सम्बृद्ध हुने भो । बधाई छ नेपाली जनतालाई ।’
भट्टराईले आफूलाई स्पष्टीकरण लिन र पदबाट बर्खास्त गर्न खासगरी प्रचण्ड र माधवकुमार नेपालको भीषण दबाब रहेको भन्दै प्रश्न गरेका छन्, ‘गुरु भट्टराई देखेर तीन कान्ला हाम फाल्नेहरूले यो देश बनाउँछन् भनेर कल्पना गर्नु ?’
साथै, उनले माधवकुमार नेपाललाई चुनौती दिँदै लेखेका छन्, ‘माधव नेपाल कहाँबाट चुनाव लड्छन्, २ महिना म त्यहीँ बिताउनेवाला छु । मसँग जोडी खोज्ने माकुनेलाई मैदानमा हिसाब किताब गर्छु ।’
उनले माधवकुमार नेपाललाई ‘राजनीतिक क्यान्सर’ संज्ञा दिँदै काटेर फाल्न आवश्यक रहेको टिप्पणीसमेत गरेका छन् । यो टिप्पणीले उनको जागिर धरापमा परेको छ ।





























प्रतिक्रिया