आखिर एमालेको माधव नेपाल समूह शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने भएको छ। माधव समूहका एक सांसदका अनुसार अब छिट्टै यो समूह सरकारमा जाने निश्चित भएको हो।
माधव समूहबाट सांसदहरू रामकुमारी झाँक्री, विरोध खतिवडा, मेटमणि चौधरी, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, प्रेम आले र किसान श्रेष्ठको नाम मन्त्रीका लागि पठाइएको स्रोतले जनाएको छ।
यीबाहेक राष्ट्रियसभाका सांसद डा. खिमलाल देवकोटा, नगेन्द्र चौधरी र डा. विजय पौडेल पनि मन्त्रीको आकांक्षी रहेको स्रोतको दाबी छ।
शुक्रबारभित्र सरकारमा सहभागी हुनेगरी नेपाल पक्षले सरकारमा सहभागि हुने ६ मन्त्री र मन्त्री बन्ने लाइनमा रहेका चार जनागरी दसजनाको नाम छनोट गरिएको हो।
छ मन्त्रालय माधव नेपाल समूहको भागमा रहेको र त्यसअनुरुप नै मन्त्री बन्ने सांसद र गैरसांसदको नाम टुंगो लगाइएको नेपालनिकट एक नेताले केन्द्रबिन्दुलाई जानकारी दिए।
ती नेताका अनुसार दलसम्बन्धी ऐन बाधक बने गैरसांसद र ऐन बाधक नबने सांसदहरू नै मन्त्री बन्नेछन्। दलसम्बन्धी ऐनले रोकेमा पनि सांसदहरू प्रेम आले र किसान श्रेष्ठ भने मन्त्री बन्ने ती नेताले खुलासा गरे।
‘हाम्रो समूह सांसद पद धरापमा पारेर मन्त्री बन्दैन, आले र किसन श्रेष्ठले चाहिँ जे होस् मन्त्री बन्ने भन्नुभएको छ, त्यसैअनुसार उहाँहरूसहित हाम्रो समूह सरकारमा जान्छ, दलले कारबाही गर्ने भयो भने गैरसांसद, दलले कारबाही गर्ने अवस्था नरहे सांसदहरू नै सरकारमा जानुहुन्छ,’ ती नेताले भने।
सत्ता गठबन्धनमा रहेका अरु पार्टीलाई पनि स्थान दिनुपर्ने भएकाले नेपाल समूहले ६ मन्त्रालय मात्र लिने गठबन्धनका शीष नेताहरूबीच सहमति भएको छ। तर, नेपाल समूह आगामी शुक्रबारपछि मात्रै सरकारमा सहभागी हुँदैछ।
केन्द्रीय कमिटी बैठकको राय सुनेर मात्रै सरकारमा सहभागी हुने ती नेताले बताए। ‘हामी तयारी अवस्थामा छौं, केन्द्रीय कमिटीको पनि राय सुन्ने भनेर हामी अहिले नै सरकारमा सरिक नभएका हौं, शुक्रबारभित्र टुंगो लाग्छ,’ ती नेताले भने।
समूह अहिलेनै सरकारमा नजानुको कारण अरु के–के हुन सक्छन् भन्ने प्रश्नमा ती नेताले ‘हामीलाई अहिले पनि एमाले नै भनेर सांसद सचिवालयले चिन्छ, बहुमत केन्द्रीय सदस्यले कारबाही गरे हाम्रो समूहबाट मन्त्री बन्ने सांसदको पद जान्छ, त्यसैले हाम्रो समूह पार्टी नफुटी वा अर्को दल नभई मन्त्री बन्न ऐन बाधक रहेको छ।
अर्को चाहिँ हाम्रो समूहले केन्द्रीय सदस्यको बैठक पर्खिएको हो, केन्द्रीय कमिटीको बैठकपछि हाम्रो समूह सरकारमा सहभागी हुन्छ,’ ती नेताले भने।





























प्रतिक्रिया