काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रदेश नम्बर ५ र संघीयताको ५ वर्षे अनुभवले संघीयता आवश्यक छैन भन्ने प्रमाणित भएकाले केन्द्र र स्थानिय तह रहने गरी प्रदेश तह खारेज गर्नुपर्ने माग गरेका छन् । अध्यक्ष थापाले मंगलबार ट्वीट गर्दै प्रदेशलाई खारेज गर्नुपर्ने माग गरेका हुन् । उनले ट्वीटरमा भनेका छन्–‘यो घटनाको कारणले मात्र होइन, संघियताको ५ बर्षे अनुभवले समेत संघियता आबश्यक छैन भन्ने प्रमाणित भएको छ। केन्द्र र स्थानीयतह कायमगरी प्रदेश तह खारेज गरौँ ।’
त्यस्तै प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा मन्त्रीको गैर जिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको ध्वंसात्मक कार्य निन्दनीय भएको उनको भनाइ छ । उनले ट्वीटरमा थपेका छन्–‘५ नं प्रदेशसभा बैठकमा मन्त्रीको गैरजिम्मेवार अभिव्यक्ति र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूको ध्वंसात्मक कार्य निन्दनीय छ ।’
सोमबार बसेको प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले विरोध गर्ने कांग्रेसका सांसदहरुलाई घिसारेर निकालिहाल्न मर्यादापालकलाई निर्देशन दिएका थिए । मन्त्री केसीले उक्त अभिव्यक्ति दिएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका तीन जना सांसदहरुले बैठक स्थलमा राखिएका कर्ची, माइक र टेवलमाथि तोडफोड गरेका थिए ।































प्रतिक्रिया