माधव पक्षका नेता फकाउन ओली पक्षको फोन, ‘आउनुस् संस्थापन पक्षमै बसौं, भविष्य यहीँ छ’

माधव पक्षका नेता फकाउन ओली पक्षको फोन, ‘आउनुस् संस्थापन पक्षमै बसौं, भविष्य यहीँ छ’


एमाले माधव नेपाल समूहले पार्टीमा एकता कायम नभए फुटाउन पछि नपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका बेला संस्थापन पक्ष भने माधव समूहका नेताहरूलाई फकाउन सक्रिय भएर लागिरहेको छ।

केही समय अघिसम्म ओली पक्षमै रहे पनि ३ साउनमा देउवालाई विश्वासको मत दिएर नेपाल पक्षमा खुलेका सांसद र नेताहरूलाई संस्थापन पक्षमा फर्काउन संस्थापन पक्ष लागिपरेको हो। 

स्रोतका अनुसार विश्वासको मत दिएका आठ जना सांसद, तटस्थ बसेका १० जना सांसद र माधव समूहका केन्द्रीय कमिटीका सदस्यहरूलाई ओली पक्षका नेताहरूले फकाउन थालेका छन्।

विश्वासको मत दिनुअघिसम्म ओली क्याम्पमा रहे पनि आफूलाई अध्यक्ष केपी शर्मा ओलीले कुनै अवसर नदिएको भन्दै क्याम्प चेन्ज गरी नेपाल समूहमा खुलेका किसान श्रेष्ठ ‘किसन’ लगायत नेताहरूलाई संस्थापन पक्षमै ल्याउने रणनीति छ।

स्रोतका अनुसार ओलीनिकट नेताहरूले किसानलाई क्याम्प चेन्ज गरेर फेरि संस्थापन पक्षमै आउन आग्रह गरेका छन्। 

ती नेताको फोन संवाद उद्घृत गर्दै स्रोतले भन्यो, ‘ माननीयज्यू, तपाई आखिर ओली क्याम्पकै नेता हो, मन्त्री नबनाएको भनेर तपाईं मन्त्री बन्न लाग्नुभयो, अहिले पनि केही बिग्रिएको छैन्, संस्थापन पक्षमै आउनुहोस्, पार्टीले तपाइँको उच्च मूल्यांकन गर्छ।’

स्रोतका अनुसार विश्वासको मत दिएका आठ जना सांसद, तटस्थ बसेका १० जना सांसद र माधव समूहका केन्द्रीय कमिटीका सदस्यहरूलाई ओली पक्षका नेताहरूले फकाउन थालेका छन्।

‘होइन, माननीयज्यू, म मन्त्री बन्न आएको होइन, गठबन्धनले अवसर दिए मन्त्री पनि बनौंला, तर म ओली क्याम्पमा फर्किन्न, यतै बस्छु,’ सांसद श्रेष्ठको जवाफ उधृत गर्दै स्रोतले भनेको छ। 

फोन संवादकै क्रममा किसनको जवाफ सुनेर ओली पक्षका ती नेताले भने, ‘हुन्छ जे गर्नुस्, त्यो तपाइँको निर्णय हो तर, एक पटक विचार गर्नुहोला।’

किसनले फेरि भने, ‘हुन्छ कमरेड संवाद गर्दै गरौंला।’ त्यतिकैमा फोन संवाद सकिएको थियो।

ओली पक्षबाट तपाईंलाई फोन आएको हो भनी सांसद किसन श्रेष्ठलाई सम्पर्क गर्यौं।

‘माननीयज्यू, हजुरलाई ओली पक्षका नेताहरूले फकाउने उद्देश्यसहितको फोन आएको भन्ने सुनियो, त्यस्तो हो?

जवाफमा सांसद श्रेष्ठले भने, ‘अहिले म सँग बोल्ने कुरा केही छैन, फोनको विषयमा त म ज्यान जाला केही भन्दिनँ।’

फेरि प्रश्न गर्यौं–भन्नुहुन्न त?

उनले जवाफ फर्काए–‘ज्यान जाला भन्दिनँ है, माइन्ड नगर्नुहोस्।’

‘म एउटा निर्वाचित सांसद हो, नेकपा एमालेको कार्यकर्ता हुँ, पार्टी मिल्नुपर्छ भन्ने धारणा छ मेरो। म केटाकेटी हो र, फकाउने। म त अडिग छु नि, म माधव समूहमै रहन्छु,’ किसनले भने।

‘नेकपा एमाले फुट्नु हुन्न यति हो मेरो कुरा, है त ल बाइ,’ यति भनेर किसनले फोन काटे।

त्यसो त पछिल्लो समय माधव पक्षका अधिकांश नेताहरूले नयाँ पार्टी गठन गर्नुपर्ने, बरु ओलीबाहेकको बृहत् कम्युनिस्ट नभए बृहत् समाजवादी पार्टी गठन गर्नुपर्ने भन्दै आएका छन्।

अर्कोतिर प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पक्षलाई सहज हुने गरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा सुरु भएसँगै नेपाल पक्षमा सांसद अपुग हुन भन्दै माधव पक्षका नेता/सांसद फकाउन ओली पक्ष सक्रिय भएको अनुमान छ।

Logo