लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाही नगरे संसद् चल्न नदिने एमालेको चेतावनी (भिडियो)

लुम्बिनी प्रदेशका दुई सांसदलाई कारबाही नगरे संसद् चल्न नदिने एमालेको चेतावनी (भिडियो)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

लुम्बिनी प्रदेशसभा सचिवालयले नेकपा एमालेले निष्कासनको कारबाही गरेका सांसद अजय शाही र विमलाकुमारी खत्री वलीलाई पदमुक्त गर्न नमिल्ने बताएको छ। तर, एमालेले भने संसद सचिवालयको कारवाही नहुने पत्रपछि पत्रकार सम्मेलन गरी एमाले संसदीय दलले सभामुखले संसदीय मूल्य मान्यता विपरित स्वेच्छाचारी र निरंकुश व्यवहार देखाएको भन्दै सांसद शाही र वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने बताएको हो।

माओवादी केन्द्र स्थायी कमिटी बैठक आइतबार पेरिसडाँडामा सम्पन्न भएको छ। बैठकमा विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। यस्तै माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रिया पुरा भइसकेपछि मन्त्रिपरिषद बिस्तार हुने पनि प्रवक्ता श्रेष्ठले जनकारी दिएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नु पर्ने बताएका छन्। उनले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई र चैत महिनाभित्र शतप्रतिशत जनसङ्ख्यालाई कोरानोविरुद्धको खोप लगाइने पनि दोहोर्याएका छन् । भरतपुर अस्पतालमा आयोजित एका कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले केही दिनपछि पीसीआर र एन्टिजेन परीक्षणलाई पूर्णरुपमा निःशुल्क गर्ने गरि तयारी भइरहेको पनि जानकारी । दिएका छन्। 

मुलुकभरका महानगरपालिकामध्ये काठमाडौँ महानगरको बेरुजु सबैभन्दा बढी देखिएको छ। महालेखा परीक्षकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार १६ अर्ब ३६ करोड रकमबाट ११.८६ प्रतिशत बेरुजु देखिएको हो। प्रतिवेदन अनुसार ११ उपमहानगरपालिकाको १ अर्ब ५२ करोड ३० लाखसमेत ४ अर्ब ३४ करोड ३० लाख बेरुजु देखिएको हो। 

बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेरले अमेरिकाले अफगानिस्तानबाट सेना अहिले नै फिर्ता नगर्न आग्रह गरेका छन्। अफगान नागरिकको बारेमा मात्रै नभइ अन्तर्राष्ट्रिय समुदायको सुरक्षाको बारेमा पनि सेना फिर्ता नगर्न ब्लेरको भनाइ छ। तालिवानले अफगानिस्तान कब्जा गरेपछि बाहिरिन चाहने सबैजनाको उद्धार नभएसम्म अमेरिकी तथा नेटोका सेनाले अफगानिस्तान छाड्न नहुने बताएका हुन्। 

आजको कोरोना अपडेट
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २४८ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ। नेपालमा आज १ हजार ९२० जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २१८ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ७५१ रहेको छ। यससँगै संक्रमितको कूल संख्या पिसिआर परीक्षणबाट ७ लाख ४७ हजार ४३३ जना र एन्टीजेन परीक्षणबाट ८० हजार २०९ जना पुगेको छ। आज २४ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ। आज १२ हजार ५१६ जनाको परीक्षण गरिएको छ। हालसम्म नेपालमा ३८ लाख ३० हजार ६९१ जनाको पिसिआर र ४ लाख ३२ हजार ५५५ जनाको एन्टीजेन परीक्षण गरिएको छ।

Logo