एमालेको विधान अधिवेशन असोज र महाधिवेशन मंसिरमा हुने (भिडियोसहित)

एमालेको विधान अधिवेशन असोज र महाधिवेशन मंसिरमा हुने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

हामीले हरेक दिन महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं। आज पनि हामीले दिनभरि घटेका घटनाहरुलाई समेटेका छौं।

तत्कालीन नेकपा विभाजित हुने क्रममा माधव नेपाल पक्षमा लागेका १० नेताहरु आठ महिनापछि एमालेको आधिकारिक बैठकमा फर्किएका छन्। सर्वोच्च अदालतले २०७७ फागुन २३ गते तत्कालीन नेकपा खारेज गरिदिएर साविककै एमाले र माओवादी ब्यूँताइदिएपछि पनि उनीहरु नेपाल पक्षमा थिए। तर नेपालले एमाले फुटाएर नयाँ पार्टी खोल्ने निर्णयमा असहमति जनाएका उनीहरू असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयन गर्न ओली तयार भएपछि बैठकमा भाग लिन पुगेका हुन्। १० नेतासहितको पहिलो बैठकले आगामी मंसिर १०, ११ र १२ गते महाधिवेशन आयोजना गर्ने निर्णयसमेत गरेको छ।

नेपाली कांग्रेसका पौडेल पक्षीय नेताहरूले सभापति शेरबहादुर देउवाले पार्टी कब्जा गर्ने अभियानमा लागेको आरोप लगाएका छन्। पौडेल पक्षीय जिल्ला सभापतिहरूको धर्नालाई सम्बोधन गर्दै उनीहरूले क्रियाशील सदस्यता खोज्दै यसरी धर्ना बस्नु दुःखद रहेको र कांग्रेसका लागि राम्रो लक्षण नभएको बताए। कांग्रेस भित्र झागिएको क्रियाशील सदस्यता विवादले सभापति देउवा झनै अफ्ट्यारोमा पर्दै गएका छन्। यता क्रियाशील सदस्यता छानविन समितिले टुंग्याउन बाँकी रहेका विषयमा सैद्धान्तिक सहमति जुटाउँदै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ। 

प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टीमा ढोका बन्द गरिदिएपछि बाध्य भएर नयाँ पार्टी खोल्नु परेको बताएका छन्। अध्यक्ष नेपालले मंगलवार चन्द्रागिरीमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गरेको र आफुहरुलाई पार्टीबाट निष्काशन गरेका कारण बाध्य भएर नयाँ पार्टी खोल्नुपरेको बताएका हुन्। पार्टीको केन्द्रीय समितिको बैठक गर्न चन्द्रागिरि पुगेका उनीहरूले विधान लगायत पार्टीको संरचना लगायतका विषयमा छलफल गरि बुधबार त्यहिबाट सिधै निर्वाचन आयोगमा सशरीर सनाखत गर्न आउने तालिका रहेको छ। 

पटक–पटक कोभिडका कारण सरेको कक्षा १२ को परीक्षाप्रति सांसदहरूले बल्ल चासो दिएका छन्। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको  बैठकमा सांसदहरूले कक्षा १२ को परिक्षा लिनुपर्ने भन्दै सरकारको ध्यानाकर्षणा गराएका छन्। सांसदहरूले विद्यार्थीहरुलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था गरी कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो लिने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई आग्रह गरेका छन्। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हरि लम्सालले समितिले दिएको निर्देशन अनुसार कक्षा १२ को परीक्षाको आवश्यक व्यवस्था मिलाउन ढिलाई नगर्ने प्रतिवद्धता व्यक्त समेत गरेका छन्।

तालिबान समूहले सत्ता हातमा लिएपछि नयाँ सरकार गठनका बारेमा छलफल गरिरहेका बताइएको छ। त्यहाँका राष्ट्रपति अशरफ घानी देश छोडेर भागेपछि त्यहाँ सरकार प्रमुख पनि रित्तरहेको छ। यहाँका स्थानीय सञ्चारमाध्यमले तालिबानले नयाँ सरकार गठनका लागि आवश्यक परामर्श थालेका जनाएका छन्। यता अफगानिस्तानमा गठन हुने तालिबानको सरकार कस्तो हुन्छ भन्ने बारेमा विश्वभरिबाटै निकै चासो पूर्ण रुपमा हेरिएको छ।

Logo