हामीले प्रत्येक दिन टप फाइब समाचार भिडियोसहित पस्किने गरेका छौं । आजको टप फाइब समाचार ।
सरकारले भदौ २३ गते संघीय संसद्को अधिवेशन बोलाउन सिफारिस गरेको छ । बालुवाटारमा शनिबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ २३ गते बुधबार दिउँसो ४ बजे दुवै सदन बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो। यता प्रमुख प्रतिपक्षी दलले भने सरकारले हठात रुपमा यसअघि संसद अधिवेशन अन्त्य गरेर अनावश्यक रुपमा एमाले फुटाउन अध्यादेश ल्याएको लगायतमा विरोध गरिरहेको छ। विपक्षी दल एमालले अब संसद् चलाएर देखाउन पनि सराकारलाई चुनौती दिएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले काँग्रेस र माओवादी केन्द्र मिलेर एमसीसी सम्झौता गरेको उल्लेख गर्दै अहिले चुपचाप बसिरहेकोमा आपत्ति जनाएका छन्। नेकपा एमाले काठमाडौं महानगर कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको बृहत् कार्यकर्ता भेलामा बोल्दै उनले एमसीसी झुक्याएर पास गर्ने प्रयास नगर्न पनि सरकारलाई सचेत गराएका छन्। अध्यक्ष ओलीले माधव नेपालजस्तो लाजसरम पचेको मान्छे आफूले कहीँपनि नदेखेको टिप्पणी समेत गरेका छन् ।
नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले राजनीतिक अस्थिरता भएको बेलामा एमसीसी अनुमोदन गर्ने षड्यन्त्र भइरहेको बताएका छन् । शनिबार काठमाडौंमा अछाम जिल्लाका एमाले नेता तथा कार्यकर्ताहरूको छलफल कार्यक्रममा बोल्दै उपाध्यक्ष रावलले जसरी एमसीसी सम्झौतालाई अस्थिर राजनीति भएको बेलामा अघि सारियो, त्यसरी नै अहिले राजनीतिक अस्थिरता भएको बेलामा संसद्बाट अनुमोदन गर्ने षड्यन्त्र भइरहेको जिकिर गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको उपाध्यक्षलाई नेपाल बोलाएर नेताहरूको घरघरमा पुर्याउन लागेको उनको आरोप छ।
कोरोना भाइरसको दोस्रो लहरसँगै प्रभावित बनेको सवारीचालक अनुमति पत्र (लाइसेन्स) सम्बन्धी परीक्षा तथा लाइसेन्स वितरण कार्य अब सुचारु भएको छ। विभागले सवारीचालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा उत्तीर्ण गरेका र नविकरणका लागि आवेदन दिएका चालकलाई परीक्षणकालीन लाइसेन्स दिन सुरु गरेको छ भने, कोरोना भाइरस महामारीका कारण स्थगित गरिएको सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा भोलि अर्थात् भदौ २० गतेबाट सञ्चालन हुने भएको छ।
अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि युरोपियन युनियनले विभिन्न पाँच ओटा शर्त अघि सारेका छन् । यसका लागि सबैभन्दा पहिला तालिबानले अफगानिस्तानमा आतङ्ककारीलाई प्रश्रय दिने अथवा यहाँ आतंकवादी उत्पादन केन्द्रजस्तो गरी अरु देशलाई असर गर्ने काम गर्न नहुने बताइएको छ। विदेशकै अर्को प्रसंगमा पूर्वी चीनको एक कारखानामा शुक्रबार साँझ भएको आगलागीमा परेर कम्तीमा पनि छ जनाको ज्यान गएको छ भने केही घाइते भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १९५ जना निको भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ७ लाख २५ हजार ७५१ पुगेको छ। नेपालमा आज १ हजार २६८ जना कोरोना संक्रमित थपिएका छन्। आज एन्टीजेन परीक्षणबाट २४४ जनाको रिपोर्ट पोजेटिभ देखिएको छ। हालसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ८२६ रहेको छ। आज ९ जनाको मृत्यु भएको छ। हालसम्म मृत्यु हुनेको संख्या १० हजार ८१८ पुगेको छ।































प्रतिक्रिया