प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले आगामी निर्वाचनबाट एमाले सरकारमा फर्किने दाबी गरेका छन्।
एमाले सरकारले गरेको विकास निर्माणका लागि निर्वाचनबाट बहुमत ल्याएर सरकार बनाउने स्पष्ट पारे।
रुपन्देहीको बुटवलमा बुधबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले कांग्रेसको पछि लागेर कोही पनि वामपन्थी नहुने बताएका छन्।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) र एमालेबीच एकता गरेर कुनै गल्ती नगरेको पनि उल्लेख गरे।
‘दुई पार्टी एकता गरेर कुनै गल्ती भएको थिएन तर, माओवादीले धैर्यता देखाउन सकेन’, उनले भने, ’पार्टीलाई विभाजित गरेर भए पनि सत्तामा पुग्ने आकांक्षाले समस्या बढायो।’
उनले माओवादी केन्द्र र माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)तिर लक्षित गर्दै कांग्रेसको पछि लागेर कोही पनि वामपन्थी नहुने भन्दै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘टालाटुली बाटुली’को संज्ञा दिएका छन्।
‘कांग्रेसको पछि लागेर कोही वामपन्थी हुँदैन। दक्षिणपन्थीको पछि लाग्नेहरू कम्युनिस्ट हुँदैनन्,’ उनले भने, ’आगामी निर्वाचनमा हामी एमालेको तागत र हैसियत देखाउँछौँ। जनताको समर्थन लिएर एमाले सरकारको नेतृत्वमा आउँछ।
एमालेबाहेक अरु कसैले मुलुक बनाउन सक्दैन।’ उपमहासचिव पौडेलले थपे, ‘देउवा सरकार ‘टालाटुली बाटुली’ जस्तै हो। दुई महिनासम्म सरकार विस्तार गर्न नसकेका देउवाले केही गर्न सक्दैनन्।’
वर्तमान सरकार परमादेशबाट बनेको भन्दै कुनै अपेक्षा नभएको र जनताप्रति जिम्मेवार पनि नभएको आरोप लगाए।
पौडेलले सभामुख अग्नि सापकोटालाई सभामुख नभएर दलको सदस्य मात्रै भएको बताए।
‘प्रतिनिधिसभा अवरुद्ध भइरेको छ तर, सभामुख एउटा दलको सदस्य बनेका छन्’, उनले भने, ’सभामुख दल फुटाउने खेलमा लागेका छन्।
कार्यक्रममा उनले पार्टीबाट चोइटिएर गएका माधव नेपालले एक सिट पनि नजित्ने जिकिर पनि गरे।































प्रतिक्रिया