नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत वडा र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएसँगै दाङमा नगर अधिवेशनको सरगर्मी बढेको छ। असोज ९ गते तय भएको गाउँ, नगर अधिवेशनका लागि चुनावी सरगर्मी बढेको हाे।
यसैबीच जिल्लाका दुई उपमहानगरपालिकामा अधिवेशनबाट नेतृत्व लिन युवा दौडधुपमा लागेका छन्। तुलसीपुर उपमहानगरपालिकामा नगरसभापतिका लागि तीन जना र घोराही उपमहानगरपालिकामा दुई जना आकाङ्क्षी देखिएका छन्। सुरेश हमाल, शोभाकर सापकोटा र अनिल कार्की चुनावी मैदानमा देखिएका छन्।
तीनै जना युवा आकाङ्क्षीले चुनावी क्रियाकलाप बढाएका छन्। सुरेश हमाललाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसिँचाइमन्त्री दीपक गिरीको समर्थन रहेको बताइन्छ भने अनिल कार्कीलाई नेपाली कांग्रेस दाङका पूर्वसभापति तथा पूर्वसांसद गेहेन्द्र गिरीको पक्षको उम्मेदवारका रूपमा प्रस्तुत गरिएको छ। दुवै खेमाले उम्मेदवार बन्नका लागि प्रस्ताव नगरेका अर्का आकाङ्क्षी शोभाकर सापकोटाले भने कांग्रेसको स्वतन्त्ररूपमा उम्मेद्वारी दिने तयारी गरेको बुझिएको छ।
यद्यपी सुरेश हमाल र शोभाकर सापकोटामध्ये एक उम्मेद्वार मात्रै निर्वाचनमा उठ्ने अनुमान गरिएको छ। सुरेश हमाल महाधिवेशन प्रतिनिधिका रूपमा टिममा परेनन् भने सो खेमाले हमाललाई नगर सभापतिमा प्रस्ताव गर्ने बताइएको छ। शोभाकर सापकोटालाई प्रदेश, क्षेत्रीय तथा जिल्लामध्ये कुनै समितिमा जिम्मेवार पद दिएर हमालकै खेमामा ल्याउने पनि दीपक गिरी खेमाका एक नेताले बताएका छन्। तुलसीपुर उपमहानगरपालिका–६ बाट सर्वसम्मतरूपमा क्षेत्रीय प्रतिनिधिमा चुनिएका यातायात व्यवसायी तथा कांग्रेसका युवा नेता सुरेश हमाल नगर सभापतिका एक आकाङ्क्षी हुन्।
यातायात व्यवसायी राष्ट्रिय महासङ्घमा सल्लाहकारको भूमिकामा रहेका हमाल पश्चिम दाङका विभिन्न सामाजिक सङ्घसंस्थामा पनि उच्च तहको पदीय जिम्मेवारीमा कुशलतापूर्वक काम गरिसकेका छन्। लायन्स क्लब, रोटरी क्लब तथा तुलसीपुर उद्योग वाणिज्य सङ्घका वर्तमान सल्लाहकार हमाललाई राजनीतिसँगै सामाजिक अभियन्ताका रूपमा पनि चिन्ने गरिन्छ।
सुरेश हमालसँगै विभिन्न व्यावसायिक क्षेत्रका सहयात्री शोभाकर सापकोटा पनि नगर सभापतिकै उम्मेद्वारका आकाङ्क्षी देखिएका छन्। हमाललाई महाधिवेशन प्रतिनिधि बनाएर नगरमा आफ्नो नेतृत्व स्थापित गर्नका लागि लागिपरेका सापकोटा दीपक गिरीको टिमबाट अन्ततः नगर सभापतिको उम्मेदवार बन्न नसकेपछि स्वतन्त्ररूपमा भए पनि नगरमै लड्ने तयारीमा छन्।
सापकोटा विद्यार्थीकालदेखि नै नेविसङ्घको राजनीतिमा आबद्ध रही आएका हुन्। राप्ती बबई क्याम्पसको स्ववियु निर्वाचनबाट उपसभापति बनेका उनले नेविसङ्घ क्षेत्र नं ४ को क्षेत्रीय सचिव तथा नेपाली कांग्रेसको तुलसीपुर नगर सचिवको जिम्मेवारी पनि बहन गरिसकेका छन्।
यस्तै २०६५ सालमा राप्ती बबई क्याम्पसमा नेविसङ्घकोतर्फबाट स्ववियु सभापतिमा निर्वाचित अनिल कार्की नगर सभापतिका अर्का एक आकाङ्क्षी हुन्। कार्की तुलसीपुर–५ बाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुन् । युवामाझ लोकप्रिय छवि बनाएका कार्की नेपाली कांग्रेस दाङका पूर्वसभापति तथा गेहेन्द्र गिरीको प्यानलबाट क्षेत्रीय प्रतिनिधिमा लोकप्रिय मत पाएर निर्वाचित हुने मध्येका एक युवा हुन्।
निर्वाचन कार्यतालिका सार्वजनिक भएसँगै युवा नेताहरु आफ्नो पक्षमा मत माग्न व्यस्त छन्। नगर अधिवेशनमा घोराही नगर सभापतिका लागि आकाङ्क्षी युवा नेता रमेश पाण्डे र तिलक रावतबीच चुनावी प्रतिस्पर्धा हुने देखिएको छ। दुवै आकाङ्क्षी फरकफरक समयको अन्तरालमा विद्यार्थी राजनीतिबाटै माथि आएका हुन्। नगर सभापतिका प्रत्यासी रमेश पाण्डे नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राजनीतिमा जोडिएका नेताका रुपमा पनि चिनिन्छन्।
पाण्डेको उम्मेदवारीलाई पूर्वजिल्ला सभापति वीरकेशरी गौतम र कांग्रेस केन्द्रीय सदस्य अनिता देवकोटा खेमाको समर्थन रहेको बताइएको छ। यद्यपि, उनले आफूलाई नेपाली कांग्रेसको नगर सभापतिका रुपमा मात्र उभ्याएको बताइन्छ। नेपाल विद्यार्थी सङ्घको राजनीतिबाट नेपाली कांग्रेसको राजनीतिमा प्रवेश गरेका पाण्डे घोराही उपमहानगरपालिका–१५ का वडाध्यक्ष हुन् ।
घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनका क्रममा २०५० सालदेखि नेपाल विद्यार्थीको राजनीतिमा प्रवेश गरेका पाण्डेको पारिवारिकरुपमा राजनीतिमा फरक पृष्ठभूमि भए पनि पाण्डे सानैदेखि नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएर राजनीतिमा संलग्न भएका हुन्। लामो समयदेखि राजनीतिमा सक्रिय उनी पनि युवा पुस्तामाझ लोकप्रिय छन्।
“लामो समयदेखि राजनीतिमा लागे पनि पदीय हिसाबले कमै जिम्मेवारीमा बसेको छु” उनले भने, “तर पदीय जिम्मेवारीमा नभए पनि नेपाल विद्यार्थी सङ्घ र नेपाली कांग्रेसको लागि निरन्तररुपमा खटेर काम गर्दै आएको छु।” पाण्डे नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा भने नगर सभापतिमा पराजित भएका थिए। करिब छ वर्षपछि पुनः १४औँ महाधिवेशनमा नगर सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेकाे उनले बताए। तीन दशक लामो विद्यार्थी राजनीतिमा सक्रिय उनले पार्टीको जिम्मेवारीमा बसेर काम गर्ने इच्छा भएको बताए।
नगर सभापतिकै अर्का आकाङ्क्षी हुन् तिलक रावत। रावत कलिलो उमेरमै पारिवारिक राजनीतिका कारण सक्रिय राजनीतिमा जोडिन पुगेका हुन्। तिलकका बुवा अर्जुन रावत विसं २०५४ को स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लाको साविक दुविडाँडा गाविसको वडाध्यक्षमा उम्मेदवार थिए। द्वन्द्वकालमै माओवादीबाट उनको परिवार विस्थापित भएर घोराही झर्यो। तत्कालीन माओवादी सशस्त्र द्वन्द्वमा रोल्पामा सक्रिय राजनीति गर्दै आएका रावत परिवार माओवादीकै कारण विस्थापित भएर दाङ आएको बताइन्छ। रावत पनि आफ्नो परिवारलाई राजनीतिक द्वन्द्वपीडितको परिवारका रुपमा प्रस्ट्याउँछन्। घोराहीको रतनपुरमा बसोबास गर्दै आएसँगै तिलकले नेपाल विद्यार्थी सङ्घमा रहेर सक्रिय राजनीति सुरु गरेका हुन्।
पद्मोदय पब्लिक माविको इकाइ सचिवको भूमिकामा रहेर काम गरेका उनी विसं २०६९ मा नेपाल विद्यार्थी सङ्घको क्षेत्रीय सभापति भए। रावत अहिले नगर सभापतिको प्रत्यासी बन्नु युवाका लागि उत्साहको विषय भएको युवा राजनीतिक बृत्तमा चर्चा छ।
विद्यार्थी राजनीतिकै क्रममा नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको साथ रहेको बताउने रावतलाई नगर सभापतिका लागि क्षेत्रीय सभापति भूपबहादुर खड्का र कांग्रेस दाङका नेता राजु खनालको समर्थन रहेको बताइन्छ।रासस





























प्रतिक्रिया