संसद्को मानमर्दन गर्दै अध्यादेश खारेज गर्नु असंवैधानिक र बद्नियतपूर्णः ओली

संसद्को मानमर्दन गर्दै अध्यादेश खारेज गर्नु असंवैधानिक र बद्नियतपूर्णः ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई सन्देश पठाएका छन्।

प्रधानमन्त्री देउवाको विश्वासपात्रसमेत रहेका कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ओलीले सन्देश पठाएका हुन्।

सन्देशमा ओलीले देउवा नेतृत्वको सरकारले दल विभाजन अध्यादेश मूलतः प्रमुख प्रतिपक्ष दल फुटाउन ल्याएको र उक्त अध्यादेश बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको आरोप लगाएका छन्।

ओलीले संसद् चालु रहेको अवस्थामा कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद् बाहेक अन्यत्रबाट नहुने भन्दै देउवा सरकारले दल विभाजन अध्यादेशलाई संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दल विरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट भएको उल्लेख गरेका छन्।

ओलीले प्रधानमन्त्रीलाई पठाएको सन्देशः

सरकारले पार्टी फुटाउने प्रयोजनका लागि गत भदौ २ गते जारी गरेको अध्यादेश हिजो असोज ११ गते फिर्ता गरेको सूचना जारी गरायो, जुन बिल्कुलै असंवैधानिक, षडयन्त्रपूर्ण र बदनियतपूर्ण रहेको पुष्टि भएको छ । 

चलिरहेको संसद् मध्यरातमा हठात् बन्द गरेर बिहानै अध्यादेश ल्याउने काम प्रमुख प्रतिपक्षी दलका विरुद्धको षडयन्त्र थियो, जुन संविधान विपरीत थियो । 

अहिले संसद् अधिवेशन चालु छ । त्यो अध्यादेश प्रतिस्थापन गर्न संसद्लाई सरकारले सूचित गरिसकेको अवस्था छ । कानुन बनाउने, संशोधन गर्ने र खारेज गर्ने अधिकार र काम संसद्को हो । संसद् चालु रहेका बेला कानुन निर्माण, परिवर्तन वा खारेजीजस्ता कुरा संसद्बाहेक अन्यत्रबाट हुन सक्दैन । 

संसद्को अधिवेशन चालु नरहेको अवस्थामा तत्काल देशलाई आवश्यक परेको अवस्थामा मात्र सम्माननीय राष्ट्रपतिज्यूबाट अध्यादेशमार्फत कानुनसम्बन्धी काम हुन सक्ने हो । तर हाल संसद् अधिवेशन चालु रहेकैबेला संसद्मा प्रस्तुत विधेयकको वास्ता नगरी, संसद्को मानमर्दन गर्दै जारी गरिएको अध्यादेश खारेजीको सूचना असंवैधानिक, गैरकानुनी र दुःषित मनसायबाट अभिप्रेरित, दलीय व्यवस्था र प्रमुख प्रतिपक्षी दलविरुद्ध लक्षित छ भन्ने कुरा प्रष्ट छ । 

ओली र कानुन मन्त्री कार्कीबीचको भेट ओली निवास बालकोटमा आज भएको हो।

त्यसो त कानुनमन्त्री कार्की सरकारको दूत बनेर योसँगै तेस्रो पटक ओलीसँग भेट गरेका छन्।

प्रधानमन्त्री देउवालाई ओलीले पठाएका सन्देश ओलीको सचिवालयबाट रामशरण बजगाईले प्रेस नोटमार्फत सार्वजनिक गरेका हुन्।

Skip This
Skip This
Logo