सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूत सिफारिस गरेको छ।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले भारतका लागि डा. शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यलाई राजदूत बनाउन सिफारिस गरेको हो।
ओली नेतृत्वको सरकारले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाएर सरकारले तीन मुलुकका लागि राजदूत सिफारिस गरेको हो।
राजदूतमा सिफारिस भएकाहरूको संसदीय सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
वर्षाले आहत कृषकलाई राहत दिइने
सरकारले हालैको वर्षाबाट प्रभावित कृषकलाई राहत प्याकेज घोषणा गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हालै तीन दिनको बेमौसमी अविरल वर्षाबाट धानबाली तथा अन्य खाद्यान्न बालीमा भएको क्षतिका लागि कृषकलाई राहत दिने निर्णय गरेको स्वास्थ्य मन्त्री विरोध खतिवडाले जानकारी दिए।
उनका अनुसार १० कट्टा वालालाई ३५ प्रतिशत, ३ विघासम्मलाई ३० प्रतिशत र त्यो भन्दा बढीलाई २० प्रतिशत राहतस्वरुप क्षतिपूर्ति दिने निर्णय भएको छ।
संसद अधिवेशन अन्त्य गर्न सिफारिस
सरकारले संघीय संसदको चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।
भोलि राति १२ बजेदेखि लागू हुनेगरी बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन अन्त्य गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले न्युज कारखानालाई जानकारी दिए।
संघीय संसदको चालु नवौँ अधिवेशन प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण चल्न सकेको छैन।
सरकारको सिफारिसमा राष्ट्रपतिले संसदको अधिवेशन आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ।































प्रतिक्रिया