संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा निःशुल्क सटल बस सेवा सञ्चालन गर्ने बताएका छन्।
आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभाको ३६ औँ बैठकको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा निःशुल्क सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन् । उनले यात्रुहरूले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने बताए । मन्त्री आलेले मजदुरहरूको लागि विमानस्थलमा विश्राम घरको निर्माण गर्न निर्देशन दिएको पनि बताए । उनले भारतीय समकक्षीसँगको भेटमा नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी मुलुकहरूसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेको बताए ।
पर्यटन मन्त्री आलेले भने, ‘यो मन्त्रालयले विगतमा भन्दा अहिले धेरै तीव्रताका साथ काम गरेका छ, विगतमा हरेक मन्त्री आइसकेपछि बुझ्नलाई धेरै समय लगाउनुहुन्थ्यो, तर म आइसकेपछि तीव्रताका साथमा विगतमा १०४ दिनदेखि नेपाल एयरलाइन्सको अफिसमा भएको तालाबन्दी खुलाउने कामहरू गरेँ । पीसीआरमा व्यापक अनियमितता भएको कुरा थियो, त्यसलाई मैले नियन्त्रण गरेँ, त्यसपछि जति पनि विदेश जाने हाम्रा श्रमजीवी मजदुरहरूको निमित्त एउटा छुट्टै विश्राम घरको निर्माण गर्ने भनेर मैले निर्देशन दिइसकेको छु, आज हरेक व्यक्तिहरूले के भन्न थालेका छन् भन्दा प्लेन भन्दा ट्याक्सी महँगो भयो भन्ने गुनासो आएको हुनाले अब हामी छिटै एउटा सटल बस आन्तरिक र बाह्य एयरपोर्टमा ४ वटा सटल बस सञ्चालन गर्दैछौँ, नेपाल नागरिक उड्डयन प्राधिकरणले निःशुल्क सटेन बस सेवा सञ्चालन गर्दैछौँ, साथसाथै म अस्ति २६ गते दिल्ली गएको थिएँ, क्याबिनेटबाट अनुमोदन गरेर नेपाल सरकारले मलाई पठाएपछि मैले दुई दिने भ्रमणमा त्यहाँका पर्यटन मन्त्री र नागरिक उड्डयन मन्त्रीसँग आधा घण्टा मेरो छलफल भयो, नेपालीमा कुरा गरेँ, नेपाललाई भारत लगायत मध्यपूर्व र पश्चिमी मुलुकहरूसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेँ, दिल्लीमा ६ टू ६ वान वे छ, त्यसलाई टू वे सञ्चालन गर्नुपर्यो भनेर आग्रह गरेँ, जुन हाम्रो भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सम्माननीय प्रधानमन्त्रीज्यूबाट छिटै उद्घाटन पनि गर्दैछौँ, त्यसलाई पनि भोलि गएर ल्यान्डिङ र टेकअफ गर्नको लागि समस्या भएको हुनाले त्यसलाई छिटो टू वे बनाउनुपर्यो भनेर मैले अनुरोध गरेको छु, त्यस्तै अहिले हाम्रो नेपाल एयरलाइन्सको जहाज एउटा मात्रै दिल्ली जाने गर्छ,कम्तीमा त्यसलाई दुई वटा बनाइदिनु पर्यो भनेको छु, नेपालको जहाजबाट भारतको जहाज नेपाल र नेपालका जहाजबाट भारत जाँदा विदेशीहरूले चढ्न नपाउने एयर बबल त्यहाँ लागू भएको छ त्यसलाई पनि छिटै हटाउनु पर्यो भनेर समकक्षी मन्त्रीलाई भनेको छु।’
पर्यटन मन्त्री आलेले भारतीय सिभिल एभिएसन मन्त्री ज्योतिरादित्य एम सिन्धियासँग भारतमा नेपाल एयरलाइन्सको दुई वटा विमान उडान भर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको बताएका छन्।





























प्रतिक्रिया