विधि, पद्धतिलाई लत्त्याउँदै गैर कानुनी तरिकाले महाधिवेशन प्रतिनिधि छनोट गरिएको भन्दै कैलाली क्षेत्र नम्बर ५ मा एमालेका कार्यकर्ताले विरोध जनाएका छन् ।
१० मंसिरदेखि चितवनमा हुने १०औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्दा काठमाडौँका नेताको आदेशअनुसार प्रतिनिधि छनौट गरिएको भन्दै असन्तुष्ट पक्षले विज्ञप्ति समेत जारी गरेका छन् ।
महाधिवेशन प्रतिनिधि छनौटको विषयमा असन्तुष्टि जनाउँदै एमाले नेता शम्भु कुँवर, तेजबहादुर रावल, तारा कलेल र मिठ्ठुबहादुर कुँवरले विज्ञप्ति जारी गरेका हुन् । उनीहरूले पार्टी विधान विपरीत अवैधानिक रूपमा महाधिवेशन प्रतिनिधि छनोट गरिएको आरोप लगाएका छन् ।
आधिकारिक रूपमा ‘जनताको बहुदलीय जनवादलाई सिद्धान्तको रूपमा अगिंकार गरेको पार्टीले आन्तरिक प्रतिस्पर्धा गर्नरगराउनबाट वञ्चित गराउनु भनेको जनताको बहुदलीय जनवादकै खिलाफ रहेको हाम्रो बुझाइ छ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘यो एकात्मक निरंकुश शैली हो ।’
कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट एमाले जिल्ला उपाध्यक्ष रणबहादुर चन्द, धर्मराज पाठक, जीवन बम, राजेश खाती, डिल्लीराज खड्का, झुमा चौधरी र छाया थापा महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् ।
एमालेका नेता तथा सांसद झपट रावलले पनि कैलालीमा महाधिवेशन प्रतिनिधि छनोटमा पार्टी सत्ताको घिनलाग्दो दुरुपयोग भएको भन्दै चर्को असन्तुष्टि जनाएका छन् । नेता रावलले शनिवार साँझ ट्विट गर्दै कार्यकर्ताको प्रतिनिधि चुन्ने र चुनिने सार्वभौम अधिकारको चीरहरण भएको भन्दै नेतृत्वले जबजको उपहास गरेको आरोप लगाएका छन् ।





























प्रतिक्रिया