राजनीतिक परिवर्तनको नेतृत्व प्रचण्डले गरेको अर्थ मन्त्री शर्माको दाबी

राजनीतिक परिवर्तनको नेतृत्व प्रचण्डले गरेको अर्थ मन्त्री शर्माको दाबी

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्माले मुलुकमा प्राप्त राजनीतिक परिवर्तनको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेको दाबी गरेका छन् ।

पार्टी निकट पत्रकारहरूको संगठन प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेश समितिको प्रथम ऐतिहासिक अधिवेशन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकमा भएको राजनीतिक परिवर्तन माओवादी र त्यसको नेतृत्व प्रचण्डको आँट र साहसबाट मात्रै सम्भव भएको बताएका हुन् ।

नेता शर्माले अध्यक्ष प्रचण्ड र माओवादी नेतृत्वमा मुलुकमा यो परिवर्तन आएको सच्चाइलाई स्थापित गर्ने काममा लाग्न पनि पार्टी निकट प्रेस सेन्टर नेपालका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले त्यसो गर्दा मात्रै जनता र राष्ट्रप्रति न्याय गरेको ठहर्ने बताए । नेता शर्माले मुलुकमा भएको परिवर्तनलाई रक्षा गर्नका लागि पनि सञ्चार माध्यामहरुले परिवर्तनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नेहरुलाई स्थापित गर्दै लैजान आवश्यक रहेको बताएका छन् । 

उनले भने, ‘सत्य के हो ? त्यसलाई स्थापित गर्नुस् । जे सत्य हो, त्यही कुरा स्थापित गरियो भने हाम्रो भूमिका पुग्छ जस्तो लाग्छ मलाई । आजको सत्य के हो ? नेपाली राजनीतिको सत्य के हो ? नेपाली समाजको सत्य के हो ? आजको हाम्रो समग्र अवस्था के हो ? भन्ने कुरालाई स्थापित गर्नुस् । त्यो स्थापित गर्दा त्यहाँ कुन–कुन पात्र आईपुग्छन्, त्यतातिर नहेर्नुस् । त्यस कारण सत्य कुरा स्थापित गर्न लाग्नु भयो भने त्यो जनताप्रति न्याय हुन्छ, राष्ट्रप्रति न्याय हुन्छ । त्यो परिवर्तनको रक्षाका लागि एउटा अभियान बन्दछ । त्यस अर्थबाट नेपाली राजनीति, नेपाली राजनीतिको पछिल्लो विकासक्रम हामी दुई दशक, तीन दशकयता आईपुग्दाखेरी परिवर्तनको एउटा ठुलो आन्दोलन जनयुद्ध, जनआन्दोलनको एउटा प्रक्रियाबाट हामी नेपाललाई सामन्तवादबाट मुक्त गर्दै समावेशी लोकतन्त्र, परम्परागत लोकतन्त्र होइन । परम्परागत लोकतन्त्र होइन, यो । यो अझ सुदृढ प्रजातन्त्र हो । समावेशी लोकतन्त्र हो । यो समावेशी लोकतन्त्रसम्म ल्याई पुर्याउनका लागि के–के सत्य हुन ? यो विचार कसले पैदा गर्यो, यो अभियान कसेले थालनी गर्यो ? यो आँट कसले गर्यो ? भन्ने कुरा स्वतः स्पष्ट छ । त्यो कुरालाई स्थापित गर्नु, त्यो कुरालाई जनतासम्म लैजानु आज आवश्यक छ । नेकपा –माओवादी)ले गरेको यो हो आँट । नेकपा माओवादी नेतृत्वले गरेको हो, यो आँट । अध्यक्ष प्रचण्डले गर्नु भएको हो, यसको नेतृत्व । यो तथ्य हो । यो कुनै बनावटी कुरा होइन । कसैको प्रशंसाको कुरा होइन । यो माओवादीका मात्रै कुरा होइन, परिवर्तनको कुरा हो । यो तथ्यलाई स्थापित गर्नुस् ।’

अर्थमन्त्री  शर्माले जनतालाई सही सूचना दिने र सरकारले गरेका कामहरूको जानकारी गराउने काममा पनि सञ्चार क्षेत्रमा आबद्ध संघ, संगठनहरुले जोड दिनुपर्ने जरुरी रहेको बताएका छन् ।

Skip This
Skip This
Logo