रावललाई उम्मेदवारी फिर्ता लिन सुझाव दिँदै बस्नेतद्वारा सचिवमा उम्मेदवारी घोषणा

रावललाई उम्मेदवारी फिर्ता लिन सुझाव दिँदै बस्नेतद्वारा सचिवमा उम्मेदवारी घोषणा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको दसौँ महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

पूर्व मन्त्री समेत रहेका बस्नेतले पार्टीको सचिवमा उम्मेदवारी घोषणा गर्दै पलपुर मत ल्याएर जित्ने दाबी समेत गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनले अध्यक्ष ओलीसँगको हार्दिक सम्बन्ध रहेको र आफै पनि  आन्दोलनबाट खारिएर आएको हुनाले सचिवमा आफू विजयी हुने तर्क समेत गरेका छन् । उनले पार्टीमा युवाहरूको प्रतिनिधित्वलाई सुनिश्चित गराउन पनि आफूले उनीहरूको प्रतिनिधित्व गर्दै सचिवमा उम्मेदवारी दिएको बताए । नेता बस्नेतले भने, ‘समकालिन हिसाबमा फादर अफ दि नेशनको रुपमा युवाहरू अथवा जनताहरूले स्वीकार गरिरहेको र आफूलाई चाहिँ समकालिन राजनीतिका एउटा अब्बल नेताको रुपमा स्विकारेकाले केपी ओलीलाई हामी अध्यक्ष बनाउँछौँ । र उहाँको सशक्त सहयोगीको हिसाबले म चाहिँ यसपालि सचिवको रुपमा यसपालिको महाधिवेशनमा आफूलाई दावेदारी प्रस्तुत गरिरहेको छु । म आफै यो आन्दोलनबाट खारिएर आएको हुनाले, केपी कमरेडसँगको मेरो एक खालको हार्दिकता भएको हुनाले मलाई देशभरिको एमाले कार्यकर्ताले माया गर्छन्, अध्यक्षले मात्रै होइन । सबैले माया गर्नुहुन्छ र मलाई लाग्छ–निर्वाचन हुने स्थितिमा मैले पलपुर भोट ल्याएर जित्छु भन्ने लाग्छ ।’

नेता बस्नेतले पार्टीका उपाध्यक्ष भीम रावललाई अध्यक्षमा दिएको उम्मेदवारी फिर्ता गर्न पनि आग्रह गरेका छन् । रावलले अध्यक्षमा उम्मेदवारी दिएर राम्रो सन्देश नगएको उल्लेख गर्दै फिर्ता लिएर विगतमा खेल्दै आएको भूमिकालाई निरन्तरता दिन उपयुक्त हुने सुझाव समेत उनले दिए । नेता बस्नेतले भने, ‘कमरेड भीम रावलले अध्यक्षको रुपमा आफूलाई उम्मेदवारी प्रस्तुत गर्नु भएको छ । म उहाँलाई के अनुरोध गर्न चाहन्छु भने दुई कारणले उहाँले उम्मेदवारी दिएको हुन सक्छ । एउटा, अध्यक्षको दाबी गर्दै पार्टीका अन्य भूमिकाहरू, अन्य पदहरूमा आफूलाई स्थापित गराउन उहाँले चाहेको पनि हुन सक्छ । दोस्रो, अध्यक्षमा उम्मेदवारी दिने किनभने जित्ने उहाँको कुनै पनि सम्भावना देखिँदैन । अव चुनावमा हारजित जे हुन्छ, त्यो कुरालाई सहर्ष स्वीकार गरेर कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाऔँ भन्ने ढंगले उहाँले उम्मेदवारी दिएको हुन सक्छ । यो दुवै प्रक्रियामा जाँदाखेरी मलाई लाग्छ–उहाँले अध्यक्षमा दाबी गरेर एउटा राम्रो सन्देश गएनकि भन्ने मलाई लाग्छ । र मेरो उहाँलाई सुझाव के छ भने त्यो उम्मेदवारी फिर्ता गरेर पार्टी भित्र महत्त्वपूर्ण भूमिका उहाँले विगतदेखि जुन खेल्दै आउनु भएको छ, त्यसलाई निरन्तरता दिने हिसाबले नै आफूलाई स्थापित गरेर जाने कुरा नै सबभन्दा राम्रो हुन्छ र त्यसो नगरी उहाँ चुनाव जाने र उहाँ निराश हुने, जसरी उहाँका पछिल्ला अभिव्यक्ति अलि उत्तेजक खालको अलि निराशाजनक खालको, अलिकति अराजक खालको देखिन खोज्दैछ र उहाँ एउटा राष्ट्रवादी, बौद्धिक र एउटा विद्यावारिधि गरेको छवि बनेको व्यक्तिलाई फरक ढंगले हेर्ने दृष्टिकोण पनि बन्दैछ । यसो हुन नदिने गरी उहाँले उम्मेदवारी फिर्ता लिएर जाँदा राम्रो हुन्छ ।’

नेता बस्नेतले महाधिवेशनमा पूर्व माओवादी पृष्ठभूमिबाट आएका नेताहरू र देश बूँदे सहमतिको अवधारणा बोकेर आएका नेताहरूलाई सम्मानजनक ढंगले व्यवस्थापन गर्न लागिपर्ने बताएका थिए ।

Logo