एकलौटी निर्णय गरेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबुको राजीनामा माग

एकलौटी निर्णय गरेको भन्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबुको राजीनामा माग

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठकमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गरिएको छ । पार्टीमा छलफल नै नगरी मन्त्री हटाउने तथा नियुक्त गर्ने काम गरेको भन्दै मुख्यमन्त्री राउतको राजीनामा माग गरिएको हो ।

 प्रदेश २ सरकारको मन्त्रीबाट केही साता अघि पदमुक्त गरिएका रामनरेश रायले आफूलाई पार्टीमा छलफल नगरी बिना कारण मन्त्री पदबाट हटाएर आफ्नो अपमान गरेको गुनासो गरेका छन् ।

बैठकमा डा.बाबुराम भट्टराई र महेन्द्र यादव पक्षधर केही नेतालेसमेत मुख्यमन्त्री राउतको राजीनामा माग गरेको पार्टी श्रोतको दाबी छ । उनीहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका छन् । बैठकमा नेताहरूले अध्यक्ष यादव पार्टीभित्र एक पक्षीय रूपमा अगाडि बढ्न थालेको भन्दै आलोचना गरेको पार्टी श्रोतको दाबी छ । स्रोतका अनुसार पार्टीभित्र विधि तथा पद्धतिको मजाक उडाइएको नेताहरूको आरोप थियो ।

बैठकमा हिसिला यमी, नवराज सुवेदी, रामनरेश राय यादवले पार्टीमा संस्थागत निर्णयबिना अगाडि बढ्ने परिपाटीको विकास हुँदै जानु पार्टीकै भविष्यका लागि घातक हुने बताए । जसपा नेतृ हिसिला यमीले पार्टीमा विधि अनुसरणको अभाव देखिएको भन्दै प्रदेश सरकारबाट मन्त्री हटाउने कार्य स्वेच्छाचारिकताको उदाहरण भएको बताइन् ।

बैठकमा मुख्यमन्त्री लालबाबु राउतले भने आफ्नो बचाउ गरेको एक नेताले बताए । बैठकले कार्यकारिणी समितिमा १२ जनालाई थप गर्ने निर्णय समेत गरेको छ । कार्यकारिणी समितिमा ३३ प्रतिशत महिला पुर्‍याउन संख्या थप गर्न लागिएको हो । कार्यकारिणी समितिमा १६ जना थप गर्नुपर्ने भए पनि हाललाई १२ जना मात्र थप गर्ने निर्णय भएको छ ।

Logo