नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओलीलाई सूर्य चिन्हको धाक नलगाउन चेतावनी दिएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमालेको सूर्य चिन्हमा ग्रहण लागेको भन्दै ओलीले धाक लगाएर हिँडिरहनु नपर्ने बताएका हुन् । बुधवार जनकपुरमा स्थानीय सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले आफ्नो पार्टीप्रति आकर्षण बढिरहेको कुरा सबैले महसुस गरिरहेको दाबी समेत गरेका छन् । अध्यक्ष नेपालले आफ्नो पार्टीको चुनाव चिन्ह कलम चम्किरहेको र यही मंसीर १५ गतदेखि सो चिन्हको स्किटर लिएर आर्थिक संकलन गर्दै जनताको घरघरमा पुग्ने अभियान संचालन गर्ने घोषणा समेत गरेका छन् । उनले आफ्नो पार्टीले समाजवादको दिशामा अघि बढ्नका लागि समानता, न्याय, विकास र समृद्धिको विषयलाई केन्द्रबिन्दुमा राखेर अघि बढिरहेको बताए ।
अध्यक्ष नेपालले भने, ‘समाजवादको दिशामा अघि बढ्नका लागि समानताको, न्यायको, विकासको र समृद्धिको यी चार वटा विषयलाई केन्द्र विन्दुमा राखेर अगाडि बढिरहेको हुनाले भविष्य यो पार्टीको छ । मैले भन्ने गरेको छु–अव सूर्यको धाक नदेखाए हुन्छ । त्यसमा ग्रहण लागि सकेको छ । अव कलम चम्किरहेको छ । सत्य र न्यायको सन्देश दिइरहेको छ । अव मंसीर १५ गतेदेखि स्टिकर वितरण गर्दै आर्थिक सहयोग संकलन गर्दै घरघरमा हामी जनताको माझमा पुग्ने अभियान संचालन गर्न गइरहेका छौँ । यो पार्टीप्रतिको आकर्षण बढिरहेको कुरा सबैले महसुस गरिरहेका छन् । भविष्य छ भने एकीकृत समाजवादी पार्टीको छ ।’
अध्यक्ष नेपालले प्रदेश २ को नामाकरण जनकपुर र राजधानी पनि जनकपुर नै राख्न उपयुक्त हुने धारणा समेत राखेका छन् । उनले मधेस प्रदेश बन्न सक्छ कि सक्दैन ? भनी स्थानीय सञ्चारकर्मीहरूले सोधेको प्रश्नप्रति इन्कार गर्दै त्यस सम्बन्धमा राजनीतिक दलहरुबीच छलफल गरेर मात्रै केही बोल्न सकिने बताएका हुन् ।





























प्रतिक्रिया