एमाले महाधिवेशन: लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा

एमाले महाधिवेशन: लुम्बिनीबाट ७५ हजार कार्यकर्ता बोकेर एक हजार गाडी सौराहामा

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट झन्डै सात सय गाडी बुक भएका छन् । प्रदेशका १२ जिल्ला मध्ये रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट मात्रै सात सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्राविले जनाएको छ ।

यद्यपि हरेक जिल्लाबाट यकिन तथ्यांक आइनसकेको तर प्रारम्भिक रिपोर्ट अनुसार रुपन्देहीबाट ३००, नवलपरासी र कपिलवस्तुबाट दुई–दुई सय र बाँकी जिल्लाहरूबाट थप तीन सय गाडी बुक भएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका प्रबन्धक रामचन्द्र भुसालले बताए ।

'जिल्ला जिल्लाबाट यकिन रिपोर्ट त आइसकेको छैन, तर अहिलेसम्मको अवस्था अनुसार रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट सात सय गाडी बुक भएका छन् भने अरू तीन सय थप जिल्लाहरूबाट बुक भएको छ,'उनले भने ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिसँग दुई हजार चार सय गाडी आबद्ध छन् । गाडीको अभाव हुन नदिइने प्रालिका अध्यक्ष दधिराम खरेलले बताए । 'गाडी धेरैजसो बुक भइसकेका छन्, तर पनि हामी अभाव हुन दिने छैनौँ', उनले भने । बस व्यवसायी प्राविले बिहीबार साँझदेखि क्यू फ्रि समेत गर्ने भएको छ । शुक्रवार बुटवल नारायणगढ खण्ड बन्द हुने भएकाले भैरहवा हुँदै पूर्व जानका लागि क्यू फ्रि गरिएको खरेलले बताए ।

शुक्रवारदेखि चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार जनताको सहभागिता गराउने एमालेको तयारी छ । यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रूपमा जिम्मेवारी बाँडफाँडसमेत गरेको छ । जिम्मेवारी पाएका जिल्लाहरूले गाडी बुक गरिसकेको र कतिपय आजै साँझ र कतिपय शुक्रवार बिहान ५ बजे हिँड्ने गरी गाडी बुक भएको एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लीला गिरीले बताए ।

लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउँदै छ । त्यस्तै नवलपरासी र कपिलवस्तु जिल्ला कमिटीलाई १५–१५ हजारका दरले जनसहभागिता गराउने गरी जिम्मेवारी तोकिएको छ । त्यस्तै दाङबाट आठ हजार, बाँकेबाट पाँच हजार, बर्दिया र पाल्पाबाट तीन–तीन हजार, गुल्मी, अर्घाखाँची र प्युठानबाट एक–एक हजार तथा रुकुम पूर्व र रोल्पाबाट पाँच सयका दरले सहभागिता हुनेछ । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

Logo