कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई विजयी

कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई विजयी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई निर्वाचित भएका छन् । कांग्रेसको सातौँ जिल्ला अधिवेशनमा सभापतिका उम्मेदवार पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सर्वधन राईभन्दा ५९ बढी मत ल्याएर विष्णुकुमार जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

मतदानमा १ हजार ३२२ मत खसेकोमा शुक्रवार सार्वजनिक घोषित परिणामअनुसार विष्णुकुमारले ६६९ मत पाउँदा सर्वधनले ६१० मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनले तेस्रोपल्ट पार्टीको जिल्ला सभापतिको नेतृत्व सम्हाल्ने अवसर पाएका छन् । पौडेल समूह निकट राईको सिंगो प्यानल नै विजयी भएको छ ।
 
नवनिर्वाचित सभापति राई कांग्रेसका पूर्व सभापति एवं महासमिति सदस्य हुन् । २०३६ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य बनेर राजनीतिमा प्रवेश गरेका विष्णुकुमार २०६२ साल र २०६७ सालको अधिवेशनबाट पार्टीको सभापति चुनिएका थिए । 

यस्तै २०४८ साल र २०५२ सालमा कांग्रेस महाधिवेशन प्रतिनिधि बनेका राई २०७२ सालमा महासमिति सदस्य बनेका थिए । कानुनमा स्नातक उनी ६ असार २०४९ देखि ५ वर्ष तत्कालीन जिल्ला विकास समिति खोटाङको सभापति बनेका थिए । 

साहित्यमा उनी विष्णु आभूषणका रूपमा चिनिन्छन् । उनलाई निवर्तमान सभापति नरेश श्रेष्ठ, शेखर कोइराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको समर्थन थियो । सभापतिमा पराजित सर्वधन देउवा निकट हुन् । 

राईको प्यानलबाट उपसभापतिमा ई वन राईले ७५३ मत र तीर्थराज भट्टराईले ७४२ मत ल्याएर विजयी भएका छन् । सचिवमा समीर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत ल्याएर विजयी बनेका छन् । 

यस्तै, सहसचिवमा सार्जन राईले ६२४ मत र सालिकराम बञ्जराले ५९३ मत पाएर विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

Logo