एमालेको १०औँ महाधिवेशनको बन्दसत्र तयारी, विधान संशोधन, सहमति प्रयासलगायतका विषयमा चितवनमा रहेका एमाले सचेतक विशाल भट्टराईसँग गरेको संक्षिप्त कुराकानी :
महाधिवेशनको बन्दसत्र कसरी हुँदैछ?
हाम्रो महाधिवेशन अलि पृथक् तरिकाले चलिरहेको छ । विधान र नेतृत्व महाधिवेशन छुट्टै गरेको पहिलो पटक भएकाले पनि यो नौलो प्रयास हो ।
१५ देखि १७ असोजमा ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले विधि र नीति पारित गरिसकेको छ । अब यो महाधिवेशनबाट विधि र नेतृत्व कार्यान्वयन गर्ने नेतृत्व चयन गर्दैछौं । बन्दसत्रमा अध्यक्ष मण्डल हुन्छ । अध्यक्ष केपी ओली र नेताहरू ईश्वर पोखरेल, रामबहादुर थापा ‘बादल’ लगायतको ११ सदस्यीय अध्यक्ष मण्डल छ ।
त्यसैगरी हामीले माइन्युट कमिटी पनि बनाएका छौँ । कार्यक्रम अध्यक्ष मण्डलले सञ्चालन गर्छ । अध्यक्ष मण्डलले नवौँ महाधिवेशनबाट निर्वाचित कमिटी भंग भएको घोषणा गरेपछि १० औंको नेतृत्व चयन प्रक्रिया सुरु हुन्छ ।
गोदावरीबाट पारित विधान त संशोधन हुने भयो हैन?
विधान महाधिवेशनपछि राष्ट्रिय महाधिवेशनले आवश्यक रूपमा विधान संशोधन गर्ने व्यवस्थाअनुरूप केही हेरफेर गरिएको हो । चुस्त कमिटी नै बनाउँछौँ । धेरै ठुलो बनाउँदैनौ ।
पदाधिकारीको व्यवस्था संशोधन भए पनि ७० वर्षे उमेर हद कडाइका साथ लागू गर्छौँ । पदाधिकारीमा दुई कार्यकालभन्दा बढी रहन नपाउने व्यवस्था पनि यथावत् छ । यो संशाेधन पनि विधान विधानअनुसार हुँदै छ ।
सर्वसम्मत नेतृत्व चयनको सम्भावना कति देख्नुहुन्छ ?
अध्यक्षसहित वर्तमान केन्द्रीय कमिटी नै सर्वसम्मत नेतृत्व चयनको प्रयासमा छ । हामी अधिकतम लचकताका साथ नेतृत्वमा सर्वसम्मतिको प्रयासमै छौँ । २३ सय चार जना प्रतिनिधि सबै केन्द्रमा अटाउने कुरा हुँदैन । त्यसैले धेरैको त्याग भयो भने सम्भव छ । वडा, पालिका, जिल्ला हुँदै प्रवासका कमिटीसमेत सर्वसम्मत नेतृत्व चयन गरेर आएका छन् । केन्द्रले यसको अनुसरण गर्छ नै ।
सर्वसम्मतिकै लागि विधान संशोधन गरौँ भनेर बन्दत्रमा प्रस्ताव लैजाँदै छौँ । पदाधिकारी थप्न प्रस्ताव राख्यौँ । अध्यक्षलाई अधिकार दिऊँ भनेर प्रस्ताव गर्यौ । केन्द्रीय कमिटीले पारित गरिसकेको छ ।
सर्वसम्मत नेतृत्वको सम्मुखमा छौँ । चुनावमा जाँदैनौं । कदाचित सर्वसम्मत भएन र चुनाव भयो भने लोकतान्त्रिक प्रक्रियाबाट हुन्छ । यसमा एमाले अनुभवी छ । दुवै विकल्पका लागि तयार छौँ । तर ९९ प्रतिशत सर्वसम्मतको सम्भावना छ । केन्द्रीय कमिटी सदस्यको पनि सर्वसम्मत गर्नुपर्छ भनेर हामीले प्रयास गरिरहेका छौँ । आयोगमा पनि सर्वसम्मत गर्ने प्रयासमा छौँ ।
अध्यक्षमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई
सौराहा । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुने दाबी गरेका छन् ।
महाधिवेशनको बन्दसत्र स्थल सौराहामा पत्रकारहरूसँग कुराकानी गर्दै उनले सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको बताए ।
‘अध्यक्षसहित सबै पदमा सर्वसम्मत हुन्छ’, उनले भने, ‘एकताको सन्देश दिन पनि त्यो जरुरी छ ।
पार्टीका उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेर चुनावी मैदानमा होमिएका बेला प्रचार विभाग प्रमुख भट्टराईले शीर्ष नेताहरूलाई योग्यता र क्षमताका आधारमा पद बाँडफाँट गरी सर्वसम्मत नेतृत्व चयन गर्ने बताए ।
रावल भने अहिले बन्दसत्र हलमा प्रतिनिधिसँग भोट माग्न व्यस्त छन् । अध्यक्ष केपी ओली भने आफू बसेको रिपोर्टमा निकटका नेताहरूसँग छलफलमा जुटेका छन् ।





























प्रतिक्रिया