कांग्रेसको नेतृत्व बदल्नुपर्छ: गगन थापा

कांग्रेसको नेतृत्व बदल्नुपर्छ: गगन थापा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताएका छन् ।

शनिवार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समुहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले आफु महामन्त्री हुने कुरा गौण भएपनि पार्टीको नेतृत्व बदल्ने कुरा भने मुख्य रहेको बताएका छन् । उनले नेपाली नागरिकलाई देश बदलिन्छ र अब राम्रो हुन्छ भन्ने विश्वास र भरोसा चाहिएको उल्लेख गर्दै त्यो भरोसा दिनसक्ने नेतृत्व चाहिएको बताए । नेता थापाले पार्टीको महाधिवेशनबाट कांग्रेसको नेतृत्व बदल्नुपर्ने बताएका छन् । उनले भने – ‘यो अधिवेशनबाट कांग्रेसको मुल अनुहार, कांग्रेसको मुख्य नेतृत्व हामी बदल्न सक्छौँ कि सक्दैनौँ त्यो सबैभन्दा ठुलो प्रश्न हो । हाम्रो अगाडीको सबैभन्दा ठुलो प्रश्न यो हो । हामी कोही केही नभएर केही हुँदैन तर कांग्रेसको मुख्य नेतृत्व बदल्नुपर्नेछ । आम नागरिकको बिचमा गयो भने ठुलो निराशा छ । चुनावदेखि चुनावको गोलचक्रमा देश घुमेर मात्र हुँदैन । हामी सबै भन्छौँ कांग्रेसले चुनाव जित्नुपर्छ, जित्छ चुनाव तर चुनाव जितेपछि के ? नागरिकलाई अहिले चुनाव जित्ने कुरा होईन, नागरिकलाई एउटा भरोसा चाहिएको छ । यत्रो लामो संक्रमण पछाडी एउटा भरोसा चाहिएको छ केही ठिकठाक हुन्छ, केही कुरा बदलिन्छ । यो भन्दा राम्रो हुन्छ । युवामा मेरो जीवनकालमा नेपाल बदलिन्छ भन्ने विश्वास चाहिएको छ । त्यो विश्वास दिनसक्ने नेपाली कांग्रेसको नेतृत्व चाहिएको छ । यो अधिवेशनबाट कांग्रेसको नेतृत्व बदल्नुपर्छ ।’

नेता थापाले पार्टीको नेतृत्व बदल्न चाहानेहरुको बिचमा एकता र समझदारी हुनु आवश्यक रहेको बताए । कसले नेतृत्व गर्दा राजनीतिक रुपमा न्याय र जायज हुन्छ उसको नेतृत्वमा जानुपर्ने उनले बताएका छन् । सकेसम्म १२ औँ महाधिवेशनमा एकै ठाउँमा रहेका नेताहरु पुनः एकै ठाउँमा उभिनुपर्नेमा उनले जोड दिए । उनले भने – ‘अधिवेशन हो, अधिवेशन भनिसकेपछि संख्या हुन्छ । गणित हुन्छ । संख्याले, गणितले भनिरहेको छ, पार्टीको नेतृत्व बदल्नको लागि नेतृत्व बदल्ने संकल्प गरेर मैैदानमा आउनुभएको नेताहरुको बिचमा एकता हुन आवश्यक छ । एउटा सझदारी हुन आवश्यक छ । त्यो समझदारी कायम गर्नैपर्छ । सझदारी कायम गर्दै गर्दाखेरी स्वभाविक रुपमा कसको नाममा समझदारी कायम हुन्छ, कसले नेतृत्व गर्दैगर्दा न्याय हुन्छ । राजनीतिक न्याय हुन्छ । जायज हुन्छ भन्नेकुरा आवश्यकता पर्दाखेरी उपयुक्त समयमा हामीजस्ता प्रत्येक कार्यकर्ताले बोल्नेछौँ । बोल्न तयार छौँ । सकिन्छ, १२ औँ महाधिवेशनमा एकै ठाउँमा रहेका सबै नेतागण एकै ठाउँ उभिनुपर्छ । एक ठाउँमा उभिएर देशभरीबाट आएको साथीहरुको जुन उत्साह छ, त्यो उत्साहलाई संगठित गरेर, संयोजन गरेर नयाँ नेतृत्व ल्याउनैपर्नेछ ।’

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान पार्टी नेतृत्वले निर्वाचन बाट कांग्रेसलाई ३० सिटमा सिमित गराएको भन्दै यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताएका छन् । नेता सिंहले कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणालीपनि खल्बल्लिने बताए । उनले भने – ‘केन्द्रको नेतृत्व यदी हामिले परिवर्तन गर्न सकेनौँ भने १३ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिको नेतृत्वमा १६५ मा ३० सिटमा झरेको पार्टी, अब फेरी हामिले सन्देश राम्रोसँग ग्रहण गरेर जनताले चाहे अनुसारको नेतृत्व परिवर्तन गर्न सकेनौँ भने कांग्रेसलाई आउँदो दिन गाह्रो हुन्छ । कांग्रेस कमजोर भयो भने त नेपालको प्रजातान्त्रिक प्रणाली पनि खल्बल्लिन सकिने रहेछ भन्ने हालसालको राजनीतिक घटनाक्रमबाट निचोड निकाल्न सकिन्छ ।’

कांग्रेस काठमाडौं जिल्ला समितिमा नेताहरु थापा र श्रेष्ठको समर्थनमा सभापति कृष्ण बानियाँ(सबुज), उपसभापतिहरु राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवहरु गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा लगायतको कार्यसमितिको उम्मेदवारी घोषणा गरिएको छ ।

Logo