ओलीले भने- विपक्षीसँग प्रतिस्पर्धा गरौँ, पार्टीभित्र एकता गरौँ

ओलीले भने- विपक्षीसँग प्रतिस्पर्धा गरौँ, पार्टीभित्र एकता गरौँ

केन्द्रबिन्दु
0
Shares

एमाले अध्यक्ष केपी ओलीले पार्टीभित्र प्रतिस्पर्धा नभई एकता गरेर अघि बढ्नुपर्ने बताएका छन् । १०औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै उनले भने ‘विपक्षीसँग प्रतिस्पर्धा गरौँ, पार्टीभित्र एकता गरौँ ।’ 

उनले पार्टीलाई एकतापूर्ण ढंगले अगाडि बढाएको भन्दा नेता र कार्यकर्तालाई धन्यवादसमेत दिए । ‘म कति बाँच्छु भन्न सक्दिन, धेरै पटक मरेर बाँचेर आएको छु, तपाईँहरूलाई देखेरै मलाइ निद्रा लाग्छ खाना रुच्छ र देशको भविष्य सुरक्षित देख्छु,’ ओलीले बन्द सत्रमा भने । 

१०औँ महाधिवेशनको बन्द सत्रमा बोल्दै ओलीले एमालेबाट अन्य दलहरूले समेत सिक्न थालेको भन्दै एमालेकै मोडलमा एकै पटक तल्ला तहका कमिटीहरूका अधिवेशन गर्न सुरु भएको बताए । 

ऐतिहासिक जनसहभागिता र शुभेच्छामा उद्घाटन सत्र सम्पन्न गरेको भन्दै ओलीले भने, ‘एउटा विशेष परिस्थिति र अवस्थाबाट अघि बढिरहेको छ । सत्ताबाट प्रतिपक्ष भएको अवस्थामा, विरोधीका जालझेल असंवैधानिक अलोकतान्त्रिक कदमले यहाँ पुग्यौँ । जनताले यहाँ पुर्‍याएको होइन । जनमत यो होइन । अझ बढी गम्भीर चुनौती खडा भएको छ । राज्यको दुरुपयोग भएको छ । दृढ भएर सामना गर्नुपर्नेछ ।’ 

उनले नवौँ महाधिवेशनपछि संविधान निर्माण गरी जारी गर्न दलहरू एकजुट गराउन एमालेको महत्त्वपूर्ण भूमिका रहेको बताए । उनले महाधिवेशनपछि स्पष्ट वैचारिक दिशातर्फ अगाडि बढेको भन्दै  एमालेलाई दुर्वचन बोल्ने र होच्याउने अवस्था अन्त्य भएको पनि बताए ।

Logo