नेकपा एमालेका नेता भीम रावलले महाधिवेशन विधि र पद्धति अनुसार हुनुपर्ने बताएका छन्।
पदाधिकारी र केन्द्रीय सदस्यहरूको नामावली प्रस्ताव गर्ने अधिकार केपी शर्मा ओलीलाई दिने प्रस्तावको विरोध गर्दै रावलले पार्टी महाधिवेशन विधि र पद्धति अनुसार हुनुपर्ने बताएका हुन्।
'सहमति गर्नुपर्छ भन्ने ठिक छ। पदाधिकारी र केन्द्रीय सदस्यमा सहमति होला। उम्मेदवारी दिएन भने त सर्वसम्मत भइहाल्यो नी,' उनले भने, 'विधान विपरित कुनै काम हुन सक्दैन। कि त अब उपरान्त निर्वाचन हुने छैन भनेर लेख्नुपर्यो।'
निर्वाचन हुँदैमा पार्टी विभाजन हुन्छ भन्नु गलत रहेको रावलले बताए। समन्वय कमिटी बाहेक सबैमा निर्वाचन हुने विधानमा व्यवस्था रहेकाले पार्टी विधान अनुसार चल्नुपर्ने उनले बताए।
उनले आफूले कुनै पनि हालतमा अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। उनले आफू बाहेक अन्य नेताहरूले पनि विभिन्न पदमा उम्मेदवारी दिने बताएका छन्।




















