केन्द्रीय सदस्यमा नपर्दैमा मेरो भूमिका खुम्चिदैन, अध्यक्षकै सल्लाहमा केन्द्रमा नबसेको हुँ: भट्टराई

केन्द्रीय सदस्यमा नपर्दैमा मेरो भूमिका खुम्चिदैन, अध्यक्षकै सल्लाहमा केन्द्रमा नबसेको हुँ: भट्टराई

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेको चालु दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले जारी गरेको लिष्टमा ओलीका निकट भनिएका विशाल भट्टराई केन्द्रीय सदस्यमा नपरेपछि विभिन्न खाले टिप्पणी भइरहेका छन्। 

एमाले संसदीय दलका  सचेतक तथा ओलीका निकट भनिएका नेता भट्टराई केन्द्रीय सदस्यमा नपरेपछि अनेक अड्कालबाजी गरिएका हुन्। केहीले चिन्ता व्यक्त गरेका छन् भने केहीले आश्चर्य प्रकट गरेका छन्। 

यसैबीच आफ्नो विषयमा  विभिन्न टिप्पणी भएपछि नेता भट्टराईले आफ्नो धारणा व्यक्त गरेका छन्। सोमबार बेलुकी सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गर्दै नेता भट्टराईले अध्यक्ष ओली, महासचिव लगायत शीर्ष नेतृत्वकै सल्लाहमा आफूले केन्द्रीय सदस्यको पद छाडेको बताएका छन्। 

‘महाधिवेशनमा प्रस्तुत केन्द्रीय कमिटीमा मेरो नाम नपरेको  बिषयमा मुख्यतः दुइखाले टिप्पणी देखिएका छन्। एकथरीले मेरो नाम नआएकोमा खुसी वा ठिक्क पर्यो वा ब्यङ्यात्मक टिप्पणी गर्नुभएको छ भने अर्को ठूलो पङ्तिले चिन्ता वा सद्भाव वा आश्चर्य मानेर लेख्नुभएको पढेको छु’, नेता भट्टराई फेसबुकमा लेख्छन्, ‘खासमा पार्टी अध्यक्ष ,महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मेवारी दिने भन्नुभएको छ। म यसैपनि संसदीय दलको प्रमूख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु, अब थप सशक्त  भूमिकासहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु।’ 

आफू संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै उनले अब थप सशक्त भूमिका सहित पार्टी संगठन निर्माण र परिचालनमा सरिक हुने समेत बताएका छन्। 

केन्द्रीय सदस्यमा नपर्दैमा आफ्नो भूमिका कमजोर नहुने बताउँदै नेता भट्टराईले कोही पनि चिन्तित नहुन आग्रहसमेत गरेका छन् । उनले भनेका छन्, ‘यही कारणले मात्र मेरो भूमिका खुम्चिदैन, म कमजोर बन्दिन्। नेपाली राजनीतिमा मेरो सानो-ठूलो भूमिका अनवरत रहिरहनेछ। कोही खुसी नहुन कोही चिन्तित नहुन विनम्रतापूर्वक आग्रह गर्दछु।’

Logo