नेपाली कांग्रेस प्रदेश २ को अधिवेशन उद्घाटन सत्र बिहीबार हुँदैछ। जिल्लामा वडा, पालिका र क्षेत्रीय अधिवेशनमा अझै विवाद भएता पनि नेपाली कांग्रेस प्रदेश २ ले अधिवेशन बिहीबारलाई तोकेको हो।
अधिवेशनमा सभापतिका लागि राम सरोज यादव, महेन्द्र राय यादव र कृष्ण यादव गरी अहिलेसम्म तीन जना आकांक्षी देखिएका छन्। आकांक्षी मध्ये रामसरोज यादव र कृष्ण यादव विमेलेन्द्र निधि निकट मानिन्छन् भने महेन्द्र राय यादव भने संस्थापन पक्ष निकट हुन्।
प्रदेश २ मा विमलेन्द्र निधि प्यानलकै बढी वर्चस्व भएको हुँदा निधि प्यानलले नै जित हासिल गर्न सक्ने कतिपय नेताहरूको आंकलन छ। तर, जिल्लाबाट प्रत्येक उम्मेद्वारलाई सहानुभूति भोट जाने हुँदा प्रतिस्पर्धा रोचक बन्ने देखिएको छ।
आकांक्षीको संख्या बढी र गुट, उपगुटका कारण पार्टीको वडास्तरमा समेत अधिवेशन हुन सकेको छैन। जिल्ला नेतृत्वले भने अत्यन्त विवाद भएका ठाउँमा अहिले त्यतिकै छोड्ने र केन्द्रीय महाअधिवेशनपछि मात्र टुंग्याउने निर्णयमा पुगेको बताएका छन्।
महोत्तरीको मनरासिस्वा नगरपालिका-८ मा चरम विवादका कारण अझै अधिवेशन हुन सकेको छैन। आकांक्षीमा व्यापक मतभेदका कारण अधिवेशनको बन्दसत्रमा हात हालाहाल नै भएको नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले बताए।
यही वडाको विवादका कारण क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन पनि अन्योलमा परेको छ। सकेसम्म विवाद मिलाउने नत्र वडा अधिवेशनलाई थाती राखेर अगाडि बढ्ने नेपाली कांग्रेस महोत्तरीले तयारी गरेको छ।
`अब वडाका साथीहरूका कारण क्षेत्रीय र केन्द्रीय प्रतिनिधि चयन हुनबाट वञ्चित बनेका छन् त्यसकाे जिम्मेवार वडाले लिनुपर्छ,' नेपाली कांग्रेस महोत्तरीका सभापति महेन्द्र राय यादवले भने।
क्षेत्र नम्बर ३ मा विवादका कारण वडा र क्षेत्रीय पदाधिकारी चयन गर्न सकस बनिरहेको बेला महाअधिवेशन प्रदेश प्रतिनिधि भने चयन भैसकेका छन्।
त्यसैगरी जिल्लाको बल्वा नगरपालिकामा पनि विवादका कारण अझै पालिका अधिवेशन सम्पन्न हुन सकेको छैन। बल्वा र मनरासिस्वा नगरपालिका गरी २ वटा पालिका र एउटा वडामा अधिवेशन हुन नसकेको हो।
यता क्षेत्र नम्बर २ र ४ मा सर्वसम्मत अधिवेशन सम्पन्न भएको छ भने क्षेत्र नम्बर १ मा निर्वाचन नै भएको थियो। क्षेत्र नम्बर ३ मा आज उदघाटनसत्र रहेको नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले जानकारी दिए। यदि क्षेत्रीय अधिवेशन सम्पन्न भए मनरासिस्वा-८ को वडा कमिटी भने क्षेत्रीय अधिवेशनमा भाग लिन पाउने छैनन्।





























प्रतिक्रिया