नेपाली कांग्रेसको प्रदेश नं. १ को सभापति पदका लागि उद्वव थापा उम्मेद्वार बनेका छन्। नेपाल विद्यार्थी संघको सक्रिय राजनीतिबाट उदाएका थापा कृष्णप्रसाद सिटौला र संस्थापन (शेरबहादुर देउवा) पक्षको तर्फबाट प्रदेश सभापतिको साझा उम्मेद्वार बनेका हुन्। यस अघि दुई कार्यकाल झापाको सभापति बनेका थापा सिटौला निकट मानिन्छन्।
पार्टीको केन्द्रीय सदस्यको आकांक्षी थापालाई सिटौला र संस्थापन पक्षले प्रदेशको नेतृत्व लिन सुझाव दिएपछि सभापति पदको उम्मेद्वार बनेका हुन्। प्रदेश अधिवेशनको उद्घाटन विहीवार विराटनगरमा भएकाे छ।
यता कोइराला टिमबाट राजीव कोइराला र दुर्गा घिमिरे सभापति पदका लागि आकांक्षी देखिएका छन्। नेतृत्वका लागि सहमति नजुटेपछि शनिवार निर्वाचन हुने भएको छ।
थापाले ०३४ सालमा काठमाडाैंको शंकरदेव क्याम्पसमा पढ्दा नेविसंघबाट राजनीतिक जीवन सुरु गरेका हुन्। २०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्थाविरुद्व बहुदलीय ब्यवस्था स्थापनाका लागि बहुदलको प्रचार अभियानमा सक्रिय उद्वव थापा त्यसताका विपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेका थिए।
२०४६ सालमा पञ्चायती व्यवस्थाविरुद्वको आन्दोलनमा लागेका थापाले प्रजातन्त्रको पुर्नस्थापना पश्चात नेपाली कांग्रेस अर्जुनधारा गाउँसमितिको सचिव र सभापतिको एक/एक कार्यकाल जिम्मेवारी सम्हालेका छन्।
त्यसपछि झापा २ नं क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए। थापाले दुइपटक संसद्को टिकट पाएका थिए।





























प्रतिक्रिया