आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा छः सभापति देउवा

आगामी निर्वाचनमा कांग्रेसलाई विजयी गराउनुपर्ने दायित्व सबैको काँधमा छः सभापति देउवा


प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४औँ महाधिवेशनबाट पार्टीलाई अझ बलियो बनाएर आगामी तीनै तहको निर्वाचनमा विजयी गराउनु पर्ने दायित्व सबैको काँधमा रहेको बताएका छन् ।

प्रदेश नं १ को प्रथम प्रदेश अधिवेशनको भर्चुअलरुपमा उद्घाटन गर्दै उनले अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था कांग्रेसको अगुवाइमा आएको उल्लेख गर्दै कांग्रेसले सबै ठूला परिवर्तनको नेतृत्व गरेर मुलुकमा समृद्धिको पूर्वाधार खडा गरेको बताए । संविधान जारी भएपछि प्रदेशको यो ऐतिहासिक पहिलो अधिवेशन भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले भने “केही महिनाभित्रै स्थानीय तहको निर्वाचन तथा एक वर्षभित्र सङ्घ र प्रदेशको निर्वाचनमा जाँदैछौ । त्यसैले पनि १४औं महाअधिवेशन लगत्तै हाम्रो ध्यान तीनै तहका चुनावतर्फ हुनुपर्छ ।
 
पार्टीका आन्तरिक चुनावमा हुने जितहार एउटा स्वभाविक प्रक्रिया हो, लोकतान्त्रिक अभ्यास हो । त्यसैले तपाईंहरुले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा पार्टीका सबै नेता तथा कार्यकर्ता एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

लोकतन्त्र स्थापना र पुनःस्थापनाका लागि सहादत प्राप्त गर्ने योद्धाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनले जननायक बिपी कोइरालाको विचार अनि अन्य अग्रज नेताको योगदानलाई स्मरण गर्दै अब सबैले कांग्रेसलाई सदृढ र बलियो बनाउनुपर्ने उल्लेख गरे। बलियो लोकतन्त्रमा मात्रै मुलुकको विकास र समृद्धि सम्भव हुने भन्दै प्रधानमन्त्री देउवाले मुलुकको विकास र समृद्धिको नेतृत्व कांग्रेसले मात्रै गर्न सक्छ भन्ने विगतका घटनाक्रमले पुष्टि गरिसकेको बताए। 

Logo