कांग्रेस गण्डकीमा दुई प्यानल, ५९ पदमा १५० को उम्मेद्‌वारी

कांग्रेस गण्डकीमा दुई प्यानल, ५९ पदमा १५० को उम्मेद्‌वारी

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस गण्डकीको नयाँ कार्यसमितिका लागि मनोनयन दर्ता सकिएको छ। ५९ सदस्यीय निर्वाचित कार्यसमितिका लागि १५० जनाको उम्मेद्‌वारी परेको छ।

संस्थापन पक्षबाट अर्जुन जोशीको नेतृत्वमा प्यानल बनेको छ भने संस्थापनइतरबाट शुक्रराज शर्माको नेतृत्वमा अर्को प्यानल खडा भएको छ। दुवै प्यानलले उम्मेद्‌वारी दर्ता गराईसकेका छन्। केही पदमा स्वतन्त्र उम्मेद्‌वारी पनि परेको छ।

सभापतिमा अर्जुन जोशी र शुक्रराज शर्मा, उपसभापतिमा संस्थापनबाट मेखलाल श्रेष्ठ र नेत्र महत तथा संस्थापनइतरबाट हरिप्रसाद श्रेष्ठ र कल्पना तिवारीले मनोनयन दर्ता गराए। मेखलाल र कल्पना दुवैजना स्याङजाका हुन्।

महामन्त्रीमा संस्थापनबाट कुमार खड्का र ईश्वर पाण्डे तथा संस्थापनइतरबाट किरणबाबु श्रेष्ठ र विष्णुप्रसाद लामिछानेले उम्मेद्‌वारी दिएका छन्। पाण्डे र श्रेष्ठ गोरखाका हुन्।

सहमहामन्त्रीमा संस्थापन पक्षबाट महिलामा ओमकला गौतम र संस्थापनइतरबाट कोपिला रानाभाट तथा खुलामा संस्थापनबाट राजनराज पन्त र झुलबहादुर आलेले उम्मेद्‌वारी दिए भने संस्थापनइतरबाट रामचन्द्र जोशी र रमेश पाण्डेको उम्मेद्‌वारी परेको छ।

सहमहामन्त्रीमा दुई जनाले स्वतन्त्र उम्मेद्‌वारी पनि दिएका छन्। युवराज बस्ताकोटी र गणेश सापकोटा कुनै पनि प्यानलका उम्मेद्‌वार होइनन्।

११ जिल्लाबाट महिलामा ११ जना निर्वाचित हुनुपर्नेमा १८ को उम्मेद्‌वारी छ भने ११ जना नै निर्वाचित हुने खुलामा १९ जनाको उम्मेद्‌वारी परेको छ। दुवै पदमा मनाङबाट कसैले पनि उम्मेद्वारी दिएनन्। मुस्ताङ र तनहुँका दुवै पदमा सर्वसम्मत भएका छन्।

यस्तै, चार जना निर्वाचित हुने प्रत्यक्ष महिलामा सात जनाको उम्मेद्‌वारी छ भने आठ जना निर्वाचित हुने खुला प्रत्यक्षमा २६ जनाले मनोनयन दर्ता गराएका छन्। चार जना निर्वाचित हुने खस आर्य महिलामा नाै, चार जना नै निर्वाचित हुने खस आर्य खुलामा १५ जनाको मनोनयन परेको छ।

पाँच जना निर्वाचित हुने आदिवासी जनजाति महिलामा १०, पाँच जना नै निर्वाचित हुने आदिवासी जनजाति खुल्लामा १०, एक जना निर्वाचित हुने मधेशी कोटामा दुई, दुई जना निर्वाचित हुने दलित महिला कोटामा तीन, दुई जना नै निर्वाचित हुने दलित खुलामा चार जनाको मनोनयन परेको छ।

एक जनाको कोटा रहेको थारूमा दुई जना, एउटा कोटा रहेकाे मुस्लिममा दुई तथा एक जनाको कोटा रहेको अपांग अल्पसंख्यकमा पाँच जनाले मनोनयन दर्ता गराए।

Logo