आसन्न निर्वाचनलाई मध्यनजर गर्दै खोटाङमा फोटोसहितको मतदाता नामावली संकलन अभियान सुरु गरिएको छ। आउँदो चैतमा हुने भनिएको स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्लाका १० स्थानीय तहमध्ये पहिलो चरणमा शुक्रबारदेखि केपिलासगढी गाउँपालिका, रावाबेँसी गाउँपालिका, साकेला गाउँपालिका र जन्तेढुंगा गाउँपालिकामा मतदाता नामावली संकलन अभियान सुरु गरिएको हो।
‘कोही नछुटुन्, कोही नदोहोरिउन्’ भन्ने नारासहित पहिलो चरणको मतदाता नामावली संकलनको काम आगामी २६ मंसिरसम्म जारी रहने जिल्ला निर्वाचन कार्यालय खोटाङका सूचना अधिकारी नासु लोकेन्द्रकुमार राईले बताए।
मतदाता नामावली संकलन अभियानलाई सफल बनाउनका लागि रावाबेँसी गाउँपालिकाले वडा–वडामै कर्मचारी पठाउने व्यवस्था मिलाएको छ। १८ मंसिरदेखि २३ मंसिरसम्म प्रत्येक वडाबाट मतदाता नामावली संकलन गर्ने र त्यसपछिका समयभित्र छुटेका मतदाताको नामावली संकलन गरिने गाउँपालिकाले जनाएको छ।
जिल्ला प्रशासन कार्यालय रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र इलाका प्रशासन कार्यालय रहेको खोटेहाङ गाउँपालिकामा भने त्यहीँबाट नियमितरुपमा फोटोसहितको मतदाता नामावली संकलन भइरहेको अवस्थामा अन्य पालिकामा भने अभियान सञ्चालन गरेर मतदाता नामावली संकलन सुरु गरिएको हो। फोटोसहितको मतदाता नामावली संकलनका लागि प्रत्येक पालिकामा ४/४ जना कर्मचारी खटाइएको छ।
चार जनामध्ये एक जना कर्मचारी जिल्ला निर्वाचन कार्यालयले खटाएको छ भने सम्बन्धित स्थानीय तहबाट एक जना निर्वाचन सम्पर्क व्यक्ति (दर्ता स्थल व्यवस्थापक), एक जना सहायक दर्ता कर्मचारी र एक जना दर्ता स्थल सहयोगी जुटाइएको छ।
दोस्रो चरणमा २९ मंसिरदेखि ९ पुससम्म फोटोसहितको मतदाता नामावली संकलन अभियान सञ्चालन हुनेछन् । दोस्रो चरणमा ऐंसेलुखर्क गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा मतदाता नामावली संकलनको तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मतदाता नामावली दर्ताका लागि १८ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपिसहित तोकिएको स्थानमा पुग्नुपर्नेछ। तोकिएको समय अवधिभित्र अन्य जिल्लाका नागरिकले पनि जिल्ला निर्वाचन कार्यालयमा पुगेर फोटोसहितको मतदाता नामावली दर्ता गर्न सक्ने जनाइएको छ।





























प्रतिक्रिया