कांग्रेस अधिवेशनः लुम्बिनीमा मुस्लिम समुदायकी कान्छी उम्मेद्वार

कांग्रेस अधिवेशनः लुम्बिनीमा मुस्लिम समुदायकी कान्छी उम्मेद्वार

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस लुम्बिनी प्रदेश अधिवेशनमा मुस्लिम समुदायकी २४ वर्षीया महिला डा. अलविरा खान प्रदेश सदस्यका लागि उम्मेद्वार बनेकी छन्।

मुस्लिम महिलातर्फकाे कोटाबाट उम्मेद्वार बनेकी उनी शुक्रबार दिनभर प्रतिनिधिसँग भोट मागिरहेकी थिइन्। शनिबार पनि उनले बिहानैदेखि आफूलाई जिताउन आग्रह गर्दै मतदातासँग मत मागिरहेकी छन्।

कांग्रेसको १३औँ महाधिवेशनबाट क्रियाशिल सदस्यता लिएकाे उनले बताइन्। 'मैले १८ वर्षको  उमेरमा कांग्रेसको क्रियाशिल सदस्यता लिएकी हुँ, अहिले २४ वर्षकी भएँ, प्रदेश सदस्य भएर जिम्मेवारी निर्वाह गर्न सक्छु भन्ने लागेको छ,' डा. अलविराले भनिन्। बाबु अंकित मियाको प्रेरणाबाट आफू राजनीतिमा लागेको उनको भनाइ छ। अंकित ३० वर्षदेखि कांग्रेस क्रियाशिल सदस्य छन्। पूर्वक्षेत्रीय सभापति रहेका अंकित अहिले महाधिवेशन प्रतिनिधि छन्। 

चिकित्सक पेशा अंगालेकी हुनाले आफू बिरामीको उपचारमै केन्द्रित हुने र सँगसँगै राजनीतिलाई पनि अगाडि बढाउने उनले बताइन्। उनी संस्थापन इतर समूहको प्यानलबाट प्रदेश सदस्यमा उम्मेद्वार बनेकी हुन्। मुस्लिम समुदायका महिला राजनीतिमा आउन नसकिरहेको अवस्थामा उनले अहिले भने अवस्था फरक रहेको बताइन्। 'विगतमा मुस्लिम समुदायमा राजनीतिमा लाग्न हुँदैन भन्ने भावना थियो, घरबाट निस्कन पाइँदैन थियो, तर अहिले अवस्था फेरिएको छ, मैले राजनीतिमा लाग्दा परिवारका सबै सदस्यको पूर्ण साथ पाएकी छु,' उनले भनिन्। 

कपिलवस्तु-३ को प्रदेश सभा (ख) बाट प्रतिनिधि भएर उनी लुम्बिनी प्रदेश समिति सदस्यमा उम्मेद्वार बनेकी हुन्। आफूलाई जिताउन परिवारका सबै सदस्य प्रचारमा लागेको उनी बताउँछिन्। 

Logo