कांग्रेस प्रदेश निर्वाचन: सुदूरपश्चिम प्रदेशमा नाै सय मत खस्यो

कांग्रेस प्रदेश निर्वाचन: सुदूरपश्चिम प्रदेशमा नाै सय मत खस्यो

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशन अन्तर्गत कार्यसमिति चयनका लागि भएको मतदानमा नाै सय मत खसेकाे छ। एक हजार १७ मतदाता रहेको प्रदेशमा मतदान सकिन अझै एक घण्टा लाग्ने अनुमान गरिएको निर्वाचन अधिकृत वीरबहादुर जेठाराले बताए। 

उनका अनुसार शान्तिपूर्ण तरिकाले मतदान भइरहेको छ। मतदान सकिएपछि राति नै गणना गर्ने वा भोलि गर्ने भन्ने विषयमा पछि छलफल गरिनेछ। ५९ जना सुदूरपश्चिम प्रदेश कार्यसमितिका लागि एक सय ७७ जनाले उम्मेद्वारी दिएका छन्। 

संस्थापन पक्षबाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायरको नेतृत्वमा टिमसहित चुनावमा होमिएका छन् भने इतर पक्षबाट कैलालीका पूर्वसभापति नारायणदत्त मिश्र टिमसहित चुनाव लडिरहेका छन्। 

संस्थापन पक्षबाट प्रदेश उप-सभापतिमा कैलालीका जनक चौधरी र बैतडीका लोकराज अवस्थी, महामन्त्रीमा कैलालीका नरनारायण शाह (मनू) र अछामका मेघराज खड्का तथा सह-महामन्त्रीमा कञ्चनपुरका चिन्तामणि भट्ट, गोपाल भट्ट र अछामका अम्बिका चलाउनेले उम्मेद्वारी दिएका छन्।

यस्तै, संस्थापन इतर पक्षबाट उप-सभापतिमा कञ्चनपुरका गोपाल गुरुङ र बाजुराका मानबहादुर रावल, महामन्त्रीमा बझाङका प्रताप गुर्दामी र अछामका रामबहादुर शाही, सह-महामन्त्रीमा दार्चुलाका पदमराज पन्त र बैतडीका नरेन्द्र भट्ट र खिना भण्डारीले उम्मेद्वारी दिएका छन्।

निर्वाचनबाट एक सभापति, दुई जना उप-सभापति,  एक महिलासहित तीन जना महामन्त्री चयन हुनेछन्। यसैगरी सदस्य खुलातर्फ तीन महिलासहित ११ जना, भूगोलतर्फ प्रत्येक जिल्लाबाट एक महिलासहित १८ जना, खस आर्य कोटाबाट ६ महिला ६ पुरुष गरी १२ जना, आदिवासी कोटाबाट एक जना, दलित कोटाबाट एक महिलासहित तीन जना, मधेसी कोटाबाट एक जना, थारु कोटाबाट एक महिला र दुई खुला गरी तीन जना, मुस्लिमबाट एक जना, अपाङ्गता भएका एक जनासहित ५९ सदस्यीय प्रदेश समिति चयन हुनेछन्।

Logo