को हुन् राजेन्द्र लिङ्देन?, यस्तो छ उनकाे राजनीतिक यात्रा

को हुन् राजेन्द्र लिङ्देन?, यस्तो छ उनकाे राजनीतिक यात्रा


लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्व गर्दै आएका कमल थापालाई अध्यक्षमा पराजित गर्दै राजेन्द्र लिङ्देन निर्वाचित भएसँगै उनी चर्चामा आएका छन्। 

राजेन्द्रले १ हजार ८ सय ४४ मत ल्याएका छन् । थापाले जम्मा १ हजार ६ सय १७ मत ल्याएका थिए। चार सय १३ मत बदर भएको थियो।

राप्रपाको यो महाधिवेशनले नेपाली राजनीतिमा पुरानो नेतृत्वबाट नयाँमा पुस्ता हस्तान्तरणको प्रकृया प्रारम्भ भएको सन्देश दिएको भनेर राजनीतिज्ञ तथा बौद्धिक वर्ग धेरैले प्रशंसासमेत गरेका छन् । अन्य राजनीतिक दलहरुका कार्यकर्ताहरुले राप्रपाका कार्यकर्ताले जसरी नेतृत्व चयन गर्नुपर्ने आवश्यकता रहेको भन्दै सामाजिक सञ्जालमा पनि उत्तिकै चर्चा चलेको छ। 

आफूलाई निष्ठाको पर्याय, विकास अभियन्ताको रुपमा परिचित गराउन चाहने लिङ्देन युवा पुस्तामा लोकप्रिय छन्। लोकप्रिय लिङ्देन को हुन्?उनको राजनीतिक सुुरुवात कसरी भयो? 

लिङ्देनको जन्म वि.सं. २०२२ साल भदौ २२ गते पाँचथरको अमरपुरमा भएको थियो । उनको राजनीतिक यात्रा २०३६ सालबाट सुरु भयो । २०३६ सालमा राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलमा उनी आवद्ध भएका थिए । २०४७ सालमा राप्रपाको झापा जिल्ला सचिव बने । 

झापाको हल्दिबारी गाउँपालिका–१ घर भएका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएर चर्चित बनेका थिए।

२०४९ सालमा राप्रपाको विद्यार्थी संगठन (राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन) बन्दा उनी संस्थापक अध्यक्ष बने । २०४७ पछि स्थापित राप्रपाको जिल्ला तहको पदाधिकारीदेखि २०६६ सालमा पार्टी केन्द्रीय सदस्य र त्यसपछि महामन्त्रीको रुपमा उनी कार्यरत रहे ।

पिता मानप्रसाद र माता धनकुमारीका छोरा लिङ्देनले राजनीतिशास्त्र र इतिहासमा स्नातकसम्म अध्ययन गरेका छन् । स्थानीय निकायको निर्वाचनमा तत्कालीन गोलधाप गाविस वडा नम्बर–३ बाट २ पटकसम्म वडाध्यक्ष बनेका उनी २०६१ देखि २०६३ सम्म जिविस झापाको सभापतिसमेत बने । 

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पराजय व्यहोरेका लिङ्देन २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई हराएपछि चर्चामा रहे । लिङ्देन झापा क्षेत्र नम्बर–३ बाट सांसद् निर्वाचित भएका हुन्। 

राप्रपाको केन्द्रीय सदस्य, महामन्त्री लगायत जिम्मेवारी सम्हालिसकेका ५६ वर्षीय लिङ्देन पार्टीको एकता महाधिवेशनबाट कमल थापालाई पराजित गर्दै केन्द्रीय अध्यक्षमा निर्वाचित भएका छन्।

राजनीतिक आन्दोलनको क्रममा पटक–पटक हिरासतमा बिताएका उनी २०३८ र २०४७ सालमा दुई पटक जेल परेका थिए। ९ महिनाभन्दा बढी समय बन्दी जीवन बिताएका थिए।

Logo